खेलकुद विदेश

वर्षको पहिलो एल क्लासिकोमा रियल विजयी, बार्सिलोला स्तब्ध

एजेन्सी, ९ कात्तिक-स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी भएको छ । वर्षको पहिलो एल क्लासिकोमा बार्सिलोना रियलसँग आफ्नै घरेलु मैदानमा ३–१ ले स्तब्ध बनेको हो ।

रियललाई जित दिलाउन फेड्रिको भालभर्डे, सर्जियो रामोस र लुका मोड्रिचले एक एक गोल गरे भने बार्सिलोनाका लागि अन्सु फातीले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा फेड्रिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, नवौं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनी एल क्लासिकोमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।

खेलको ६३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए भने ९० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३–१ को सहज जीत दिलाए ।

जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ६ खेलमा १३ अंक जोडेको छ । अघिल्ला दुई खेलमा लगातार हार भोगेको रियलका मुख्य प्रशिक्षक जिनेदान जिदानलाई यो जीतले राहत मिलेको छ । बार्सिलोना भने ५ खेलबाट ७ अंक जोडेर लिगको १० औं स्थानमा रहेकोछ ।

Featured