विदेश

क्यानडाका प्रधानमन्त्रीद्वारा दसैंको शुभकामना व्यक्त

ओेटावा,  ८ कात्तिक-क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिन्दुहरुको चाड विजयादशमीको उपलक्ष्यमा क्यानाडा तथा विश्वभरका हिन्दूहरुलाई शुभकामना व्यक्त गरेका छन् । 

प्रधानमन्त्रीको कार्यालयद्वारा गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अधक्ष चिरञ्जीवी घिमिरेलाई सम्बोधन गरेर पत्र बठाउँदै क्यानडा र विश्वभर छरिएर बसेका हिन्दूहरुलाई शुभकामना दिएका हुन् ।

‘क्यानाडा र विश्वभरका हिन्दुहरुले मनाइरहेको चाड विजयादशमीको खुसीमा सहभागी हुन पाउँदा मलाई अत्यन्त खुसी लागेको छु,’ प्रधानमन्त्री ट्रुडोको कार्यालयद्वारा प्रेसित पत्रमा उल्लेख गरिएको छ। क्यानाडाले बहुसांस्कृतिक समाजबाट महत्वपूर्ण शक्ति पाइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस्ता महत्वपूर्ण दिनहरुले विविधता नै हाम्रो शक्ति हो भन्ने कुराको याद दिलाइरहने उल्लेख गरेका छन् ।

कोरोना भाइरसका कारण यस वर्ष ठूला भेला आयोजना गरेर चाडपर्वहरु मनाउन समस्या भए पनि सानो संख्यामा भेला भएर चाड मनाउँदा पनि ती चाडहरुको महत्व उत्तिकै रहने उनले बताएका छन् ।

यसैबीच, एनआरएनए क्यानाडाले प्रधानमन्त्रीलाई ईमेल र फेसबुकमार्फत् धन्यवाद ज्ञापन गरेको छ। एनआरएनए अध्यक्ष चिरञ्जीवी घिमिरेको नाममा प्रधानमन्त्रीका सचिवले शुभकामना सन्देश पठाएका हुन् ।

क्यानाडामा ‘इन्भिजिबल’ समुदाय भए पनि उच्च पदस्त व्यक्तिबाट यसरी सम्बोधन गरिँदा पहिचान बनाउन सहयोग पुर्याउने एनआरएनए क्यानाडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले बताए।

Featured