देश राजनीति

कांग्रेसले दसैँपछि सरकारविरुद्ध आन्दोलन गर्ने

काठमाडौं, ३० असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ  । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दसैँलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताए । कांग्रेसले गठन गरेको कोभिड- १९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दसैँलगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताए ।

कोभिड- १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रूपमा फैलिएको उनले बताए । सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेको पनि सभापति देउवाले बताए । औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटरलगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनै पनि काम जिम्मेवारीपूर्वक नगरेको उनको आरोप छ ।

कांग्रेसका सहमहामन्त्री एवं कोभिड- १९ अनुगमन समितिका संयोजक प्रकाशसरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताए । उनले सरकारलाई जिम्मेवार बनेर काम गर्नसमेत माग गरे । कोभिड- १९ का कारण नागरिक समस्यामा परेको भन्दै उद्धार र राहतको सुमचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउनसमेत माग गरे । कांग्रेसद्वारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति विज्ञ र कोभिड- १९ रोकथाम तथा नियत्रणमा खटिएका व्यक्तिहरूसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोभिड- १९ संक्रमण समुदायस्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ ।

Featured