NRNA खबर देश विदेश

दोस्रो विश्व ज्ञान सम्मेलनमा २ सय कार्यपत्र प्रस्तुत गरिने

काठमाडौं, २१ असोज-गैरआवासीय नेपाली संघ एनआरएनले २३ असोजदेखि २५ सम्म दोस्रो विश्‍व ज्ञान सम्मेलनकाे आयाेजना गर्ने भएको छ । संघका प्रवक्ता डीबी क्षत्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने साे सम्मेलनमा २ सयवटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालको आर्थिक, सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघले विगत दुई वर्षदेखि याे सम्मेलन आयाेजना गर्दै आएकाे छ ।

भर्चुअल माध्यमबाट हुने यस पटककाे सम्मेलनमा चारवटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहने संघले जनाएको छ । २५ भन्दा बढी देशका १ सयभन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरूबाट ३ सयभन्दा बढी प्रस्तोताहरूको सहभागिता रहने बताइएको छ ।

कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुने प्रवक्ता क्षत्रीले जानकारी गराए । सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्रहरू प्रस्तुत हुने जनाइएको छ ।

सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा  नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थानलगायतका सत्रहरू समावेश गरिएका छन् ।

तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, ऊर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञानलगायतका समानान्तर सत्रहरूमा विभिन्न विज्ञले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने तथा सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरूबीच पनि छलफल र परामर्श हुने तय गरिएको र सम्मेलनको निष्कर्षलाई एक श्वेतपत्रमार्फत नेपाल सरकारलाई बुझाउने प्रवक्ता क्षत्रीले बताए ।

Featured