देश

हैजा प्रभावित क्षेत्रमा मन्त्रीको टोली, बिरामीको संख्या ८५ पुग्यो

डडेल्धुरा, भदौ ५-डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’ को प्रकोप देखिएपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरासहितको टोली उक्त प्रभावित क्षेत्रमा पुगेको छ ।

नगरपालिका अन्तर्गत वडा नम्बर ८ को सानखोला, धादलीफाटा र गुप्तेगाडामा हैजाको महामारी फैलिएको खबर संचारमाध्यममा आएपछि शुक्रबार मन्त्री बोहरासहित डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा सम्पूर्ण सुरक्षा निकाय, परशुराम नगरपालिका नगरप्रमुख र चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको हो ।

हैजाको प्रकोप अत्याधिक भएको खबर पाएपछि औषधिसहित टोली उक्त प्रभावित क्षेत्रमा पुगेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । ‘अहिले अनुगमन भइरहेको छ, अनुगमनबाट केही न केही निश्कर्ष निकाल्ने छौँ,’ उनले भने ।

दुषित खानेपानीको कारण हैजा फैलिँदा ती गाउँमा ८५ जना बिरामी परेका छन् । ती सबै बिरामीमा गम्भीर खालको झाडापखाला अर्थात ‘हैजा’ देखिएको साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले पुष्टि गरेका छन् ।

बिहीबारसम्म एकजना गर्भवती ७ बालबालिका र अन्य ७३ जना गरी ८१ जना हैजाबाट संक्रमीत भएकोमा त्यो संख्या बढेर बिहीबार ८५ पुगेको उनले बताए ।

‘गाउँबाट माथि रहेको मुहान दुषित भएकाले दुषित पानीबाट नै हैजा फैलिएको हो । पानीमा दिशामा पाइने ‘कोलीफर्म’ अन्र्तगतको ‘भिब्रियो कोलेरा’ ले महामारी फैलिएको पाइएको छ,’ उनले भने, ‘हैजा हो भन्ने पुष्टि भएकाले अहिले उपचार गर्दैछौँ । धेरैलाई उपचार गरेर घर पठाइसके अहिले अवस्था सामान्य छ ।’

प्रभावित क्षेत्रबाट पानीको नमुना परीक्षणका लागि डडेल्धुरा अस्पतालमा पठाइएको थियो । उक्त नमुना ल्याबमा चेकजाँच गर्दा हैजा फैलाउने ‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरीया भेटिएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए ।

विगत ९ दिनबाट रातदिन स्वास्थ्यकर्मीको टोली उक्त स्थानमा काम गरिरहेको परशुराम नगरपालिका स्वास्थ्य शाखाका उप–संयोजक हिक्मत धामीले जानकारी दिए । ‘साउन २९ गते झाडापखालाको प्रकोप देखिएको हो । हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं’ उनले भने ।

Featured