राजनीति

राजधानीको बिषयलाई लिएर प्रदेश २ मा सत्तारुढ र प्रतिपक्षी दलका सांसदद्धारा बिद्रोह

जनकपुर, भदौ ५-प्रदेश २ को नाम र राजधानीको बिषयलाई लिएर सत्तारुढ समाजवादी पार्टी नेपाल र प्रतिपक्षी दल नेपाली कांग्रेसमा विद्रोह भएको छ । दुवै पार्टीका संसदीय दलको बैठकले प्रदेश राजधानी जनकपुरधाम क्षेत्रमा राख्ने निर्णय गरेपनि बारा र पर्सा जिल्लाका सांसदले विद्रोह गर्दै राजधानी वीरगञ्ज महानगरपालिकासहित आसपासमा राख्न छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।

कांग्रेस पर्साका सांसद राजेश्वरप्रसाद शाहले वीरगञ्ज महानगरपालिकालाई प्रदेश २ को राजधानी बनाउनुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएका छन् । उनको पार्टीले जनकपुरधामलाई राजधानी बनाउने प्रस्ताव दर्ता गराएको छ । विद्रोही प्रस्तावमा शाहसहित शंकरप्रसाद चौधरी, ओमप्रकाश शर्मा र असियादेवी थरुनी सहभागी छन् । विद्रोही सांसदले प्रदेशको नाम मध्य मधेश प्रदेश राख्न प्रस्ताव गरेका छन् ।

सत्तारुढ समाजवादी पार्टीका सांसद सिंहासन शाह कलवार, प्रह्लाद गिरी गोस्वामी, करिमा बेगम, जनत अन्सारी, अञ्जु यादव, भीमा यादव र राजिनीदेवी बडवालले समेत पार्टीको निर्णय विपरीत प्रदेशसभामा छुट्टै प्रस्ताव गर्दा गराएका छन् । प्रदेशको नाममा पार्टीकै निर्णय मान्य भएपनि राजधानीको सन्दर्भमा विद्रोही सांसदको फरक मत छ । विद्रोही सांसदले प्रदेशको राजधानी वीरगञ्ज महानगरपालिकादेखि बिन्ध्यबासिनी, पोखरिया, सखुवा, जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्म हुनुपर्ने प्रस्ताव गरेका छन् ।

Featured