देश

रथयात्रा आयोजक समितिद्धारा विराटनगरमा प्रभातफेरी

विराटनगर, भदौ ५–श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिले विराटनगरमा प्रभातफेरी निकालेको छ । विराटनगर–१ पोखरीयास्थित मन्दिर परिसरबाट निकालिएको प्रभातफेरी तीनपैनी, कालीमन्दिर, ट्राफिकचोक, महेन्द्रचोकबाट कोशी राजमार्गबाट बरगाछीहुंदै मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

सो क्रममा प्रभातफेरीले रथले परिक्रमा गर्ने नगरक्षेत्रको ७ किलोमिटर सडक खण्डको परिक्रमा गरेको थियो । रथयात्राको तयारी पूरा भएको आम जनमानसमा जानकारी गराउन प्रभातफेरी आयोजना गरिएको रथयात्रा आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले बताए ।

प्रभातफेरीमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नाउव उपरिक्षक घनश्याम श्रेष्ठ, आयोजक समितिका पदाधिकारी, सामुदायिक प्रहरी र रथयात्रामा खटिने स्वयंसेवकहरुको सहभागिता थियो ।

प्रत्येकबर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने ऐतिहासिक रथयात्रामा नेपाल तथा भारतका समेत गरेर लाखौं श्रद्धालुको सहभागिता हुनेगरेको छ । सो रथउात्रा दक्षिण एसियाकै दोस्रो ठुलो रथयात्रा हो ।