देश

नगरपालिकाको निर्णयमा हस्तक्षेप गर्न गगन थापाको माग

काठमाडौं, भदौ ५–नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाल अर्वुदरोग निवारण संस्थाद्धारा संचालित भक्तपुर क्यान्सर अस्पतालको संचालक समिति विघटन गर्ने भक्तपुर नगरपालिकाको निर्णय गैरकानूनी भएकोेले सच्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै थापाले सामुदायिक अस्पतालको रुपमा संचालित अस्पतालको संचालक समिति विघटन गरेर नगरपालिकाले सेवा लिइरहेका हजारौं विरामीको भविश्यमाथि खेलबाड गरेको बताए ।

‘अस्पतालमा केही अनियमितता भएको भए छानबिन गर्न सकिन्छ तर अस्पतालसँग सेवा लिने हजारौं बिरामीको सेवालाई प्रभावित गर्ने अधिकार नगरपालिकालाई छैन,’ थापाले भने, ‘अस्पतालमा अनियमितता भएको आशंका लागे अध्ययन, अनुसन्धान गर्ने कानूनी बाटो छँदाछँदै विघटन गर्ने कार्य गरेको छ । यसलाई ठीक ठाउँमा ल्याउन सरकारले पहल गरोस ।’

सांसद अग्नि सापकोटाले ह्यात होटल, पोखराका सार्वजनिक जग्गा, ककनी रिसोर्ट र गुठीको जग्गा अनियमितता बारेमा परराष्ट्र समितिले दिएको प्रतिवेदनलाई सरकारले थन्क्याएर राखेको भन्दै त्यसलाई कारबाही गर्न माग गरे ।

सांसद अतहर कमाल मुसलमानले स्वतन्त्र पत्रकारिताको नाममा पुराना पत्रकारलाई हटाउने क्रममा रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत पत्रकारहरु प्रकाश बम, चन्द्र कुँवर र सुनिता रावललाई हटाएकोमा आपत्ति जनाए ।

सांसद इन्दुकुमारी शर्माले चावहिलदेखि जोरपाटीसम्मको बाटो खराब भएका कारण हिँड्न समस्या भएको र सार्वजनिक सवारीमा समेत सर्वसाधरणले सरकारमाथि गरेको आलोचना र आक्रोस देख्दा आफूले सांसदको लोगो समेत फुकालेर यात्रा गर्नु परेको दुःखेसो पोखिन ।

Featured