देश

गोरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गोरखा, भदौ ५–गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन्। गए राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा परेको गाउपालीकाका वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए।

स्थानीय देव गुरुङको पसल घरसहित सबै सामान बगाएको र अन्य पाँच घरमा क्षति पु¥याएको छ। पहिरोले थैलीडाँडामा मात्रै १८ घर जोखिम परेको उनले बताए। ‘उनीहरुलाई त्यहाँ बस्न पनि डर छ, अन्यन्त्र सर्न पनि समस्या भएको छ’, उहाँले भन्नुभयो, ‘थैली गाउँका वारिपारि दुई गाउँ रहेका छन’ वडाध्यक्ष गुरुङका अनुसार, ‘पहिरोले पुरै क्षति नभए पनि बस्ती भने अत्यन्तै जोखिममा परेको छ’।

त्यस्तै बारपाकको स्नानगाउँमा चर्चभन्दा मुनिका छ घर पहिरोको जोखिममा परेको उनले बताए। गए राति नै परेको भारी वर्षाका कारण घरमाथिको बाटो खनेर थुपारेको माटो बगाउँदा रुदुक गाउँमा पनि एउटा किराना पसल बगाएको उहाँले जानकारी दिए। त्यस्तै त्यहाँका अन्य छ घरमा क्षति पुगेको वडाध्यक्ष गुरुङको भनाइ छ। (रासस)

Featured