देश शिक्षा

अजयमेरुका विद्यालयमा पढाइ पुनः सुरु, ‘गेटमै हात धुनू, खाजा घरबाटै ल्याउनू’

डडेल्धुरा, ११ असोज-अजयमेरु गाउँपालिकाका विद्यालयहरूमा पठनपाठन पुनः सुरु भएको छ। कोरोनाका कारण झन्डै ६ महिनादेखि ठप्प गाउँपालिकाअन्तर्गतका सामुदायिक तथा निजी विद्यालयहरूले आइतबारबाट पठनपाठन पुनः सञ्चालन गरेका हुन् ।

सामाजिक दूरी कायम गरी विद्यालयमा पढाइलाई निरन्तरता दिइएकाे गाउँपालिकाले जनाएकाे छ। अजयमेरुले गाउँपालिका स्तरीय निर्णय गरी विद्यालय खोल्ने सहमति बनेपछि विद्यालय खुलेका हुन् ।

अजयमेरुका ३० वटा सामुदायिक विद्यालय र २ वटा निजी विद्यालय गरी ३२ वटा विद्यालयले स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठन सुरु गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद पन्तले जानकारी दिए।

नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयको १९ भदाैमा मन्त्रिस्तरीय बैठकबाट पारित निर्णयअनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाको दफा ३३ को उपदफा २ लाई आधार मानेर विद्यालयहरूमा पठनपाठन सुरु गरेको उनको भनाइ छ।

सञ्चालन भएको पहिलो दिनमा विद्यार्थीहरूलाई कोभिड–१९ का विषयमा स्वास्थ्य संस्थाका कर्मचारीहरूमार्फत जानकारी गराइएको छ। पठन पाठनका लागि आउने विद्यार्थीहरूलाई विद्यालयको गेटमा पुग्नेबित्तिकै साबुन पानीले हात धुन लगाउने, एउटा बेन्चमा दुई जना राख्ने तथा अभिभावकले विद्यार्थीका लागि आवश्यक पर्ने खाजा, पानी  घरघरबाटै पठाउनुपर्ने व्यवस्था गरिएको छ।

अजयमेरुका सबै समुदायमा अनलाइनबाट पठनपाठन गराउन सम्भव नभएकोले सामाजिक सुरक्षा सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए। उनले विगतमा क्वारेन्टाइन बनाइएका विद्यालय भवनका कक्षाकोठा पूर्णरूपमा सेनेटाइज गरी पठनपाठन सुरु गरिएको बताए।

हालका लागि विद्यालयको चौरमा समाजिक दूरी कायम गरी पठन पाठन गराइरहेको अमयमेरु गाउँपालिका- १ बालकल्याण माविका प्रधानाध्यापक जगदीशसिंह भण्डारीले बताए।

Featured