देश

सुदूरपश्चिममा आइतबार थपिए काेराेनाका  ७३ संक्रमित 

डडेल्धुरा, ११ असोज-सुदूरपश्चिममा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय २८ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४ सय ४ जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कैलालीका ४७ र कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीको टीकापुर नगरपालिकाका १४ पुरुष र ७ महिला गरी २१ जना, गोदावरी नगरपालिकाका १३ जना पुरुषमा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै, धनगढी उपमहानगरपालिकाका थप १३ जनामा पनि संक्रमण पुष्टि भएको छ। वडा नम्बर १ का १ पुरुष, वडा नम्बर २ का ४ पुरुष, वडा नम्बर ३ का ३ महिला, वडा नम्बर ५ का एक पुरुष, वडा नम्बर ८ का १ पुरुष, १४ का १ पुरुष र १ महिला तथा वडा नखुलेका १ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए।

कञ्चनपुरको भीमदत्त नगरपालिका- १० का एक पुरुषमा पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ। बझाङमा पछिल्लो २४ घण्टामा १ सय ५९ जनाको कोरोना परीक्षण गरिएकोमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिए।

उनले मष्टा गाउँपालिकाका ५ महिला र १५ पुरुष गरी २० जना, खप्तडछान्ना गाउँपालिकाका २ पुरुष, तलकोट गाउँपालिकाका १ पुरुष र जिल्ला प्रहरी कार्यालयका १ प्रहरीमा संक्रमण पुष्टि भएको बताए।

डोटीमा गरिएको परीक्षणमा थप १ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६५ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार डोटीको बोगटान फुड्सिल गाउँपालिकाका १ पुरुषमा कोरोना पुष्टि भएको हो। आज ९७ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ७ हजार ३ सय नाघेको छ।

Featured