देश

अब पीसीआर रिपोर्ट सम्बन्धित व्यक्तिलाई

काठमाडौं, ११ असोज-सबै प्रयोगशालाले अब पीसीआर परीक्षणको रिपोर्ट सम्बन्धित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ वा पोजिटिभ जे भए पनि सम्बन्धित व्यक्तिलाई दिन प्रयोगशालालाई निर्देशन दिएको बताए ।

यसअघि प्रयोगशालाले रिपोर्ट नेगेटिभ आएको खण्डमा सम्बन्धित व्यक्तिलाई र पोजिटिभ आएमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई दिँदै आएका थिए ।

यसरी महाशाखालाई प्रयोगशालाले जानकारी गराएको आधारमा महाशाखाले पोजिटिभ देखिएका व्यक्तिलाई सङ्क्रमण भएको जानकारी दिने गर्दथ्यो । नेपालमा नौ लाख ८८ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा ७३ हजार ३ सय ९४ जना सङ्क्रमित भएका छन् ।

‘पहिलो पोजिटिभ आएका सङ्क्रमितलाई स्वास्थ्य संस्थामा राख्ने व्यवस्था गरेका थियौँ । अहिले आएर होम आइसोलेसनमा पनि राख्न सकिने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘धेरै सङ्क्रमित घरमै बसिरहेका छन् । त्यसैले अब घरमा आइसोलेसनमा बस्ने सबैलाई प्रयोगशालाले आफै जानकारी गराउने छन् ।’

मन्त्रालयले पोजिटिभ रिपोर्ट आएकालाई उपचारका लागि महाशाखालाई जानकारी गराउन भनेको थियो । यस्तै, काठमाडौंं, मोरङ, चितवन र सुर्खेतमा सङ्क्रमणको दर उच्च देखिएको छ । ती स्थानमा ६० वर्ष उमेर पुगेका, दीर्घरोगीलाई घरबाट ननिस्कन मन्त्रालयका प्रवक्ता डा. गौतमले आग्रह गरे ।

Featured