विदेश

अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए, केही घाइते

एजेन्सी, ११ असोज-अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरूको ज्यान गएको बताइएको छ ।

उनीहरू शनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी दिएको छ । अफगानिस्ताको पूर्वी प्रान्त लागोरमा अफगान सेनाको एयर फोर्सले गरेको हवाई कारबाहीमा परी छ जना तालिबानी लडाकू मारिएका छन् ।

उनीहरूले सो क्षेत्रमा स्थापना गरी सञ्चालनमा ल्याएको अखडामाथि अफगान सरकारी सेनाले हवाई आक्रमण गरेको थियो । सो कारबाहीबाट उक्त क्याम्प ध्वस्त भएको बताइएको छ ।

त्यसैगरी सो प्रान्तको छिमेकी अर्को प्रान्त घाज्नीको आब जिल्लामा रहेको एक प्रहरी चौकीमा तालिबानका लडाकूहरूले शनिबार साँझ हमला गरेका थिए ।

त्यस क्रममा अरु पाँच जना तालीबानी लडाकूहरू घाइते भएका छन् । यी दुवै कारबाहीहरूमा अफगान सुरक्षाकर्मीतर्फ भने कुनै क्षति नभएको बताइएको छ ।

यी कारबाहीका विषयमा अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका लडाकूहरूले भने कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यतिखेर अफगान सरकार र तालिबानी लडाकूबीचमा कतारको दोहामा वार्ता जारी छ । तर यता अफगानिस्तानमा भने तालिबानहरूले हिंसा रोकेका छैनन् ।

Featured