देश

आर्ट लाइफ थ्री डी कला प्रदर्शनी उद्घाटन

काठमाडौं, भदौ ४–वन्यजन्तु संरक्षण संघ नेपाल र यूकेस्थित क्राफ्टी क्याट आर्ट क्लबको आयोजनामा धापासी हाइटमा ट्राभलिङ एक्जिविसन (घुमन्ते प्रदर्शनी) उद्घाटन भएको छ । विभिन्न विद्यालयमा निरन्तर सञ्चालन गर्ने गरी थ्री डी त्रिआयामिक कला प्रदर्शनी साउन २० गते उद्घाटन गरिएको हो । घुमन्ते प्रदर्शनी हाल काठमाडौंको त्रियोग विद्यालयमा सञ्चालित छ ।

वातावरणीय चुनौतीलाई कलाको माध्यमबाट प्रस्तुत गर्न तथा काठमाडौंको वातावरणीय अवस्थाको झल्को दिने अवधारणामा आधारित रहेर कला प्रदर्शनी सुरु गरिएको हो । उद्घाटन कार्यक्रमअघि काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका १०० भन्दा बढी विद्यार्थीले आफ्नो अवधारणा पठाएका थिए । त्यसमध्ये ३० विद्यार्थीका उत्कृष्ट आवेदन छनौट भएका थिए ।

सो विद्यालयबाट कक्षा ५ मा अध्ययनरत मौली शाह र कक्षा ७ मा अध्ययनरत दिपिका सिंह, त्रियोग विद्यालयबाट कक्षा ७ मा अध्ययनरत कृतिका रायमाझी तथा सृष्टि विद्यालयबाट कक्षा ५ मा अध्ययनरत सोनी माझीको अवधारणालाई पूर्णता दिई प्रदर्शनीमा राखिएको थियो । अन्य विद्यार्थीले समूहमा रहेर अवधारणालाई मुर्त रुप दिन सहयोग गरेका थिए ।

द क्राफ्टी क्याट आर्ट क्लब यूकेकी संस्थापक प्रियंका राणा ल्यान्डोलीले प्रदर्शनीका लागि दुई दिन विद्यार्थीलाई त्रि(आयामिक चित्र तयार पार्ने तथा अवधारणामा आधारित कलाको स्थापनाका सम्बन्धमा सहजीकरण गरेकी थिइन् । त्रि(आयामिक कलामा फ्याँकिएको फोहोर र प्रयोगमा नआएका सामग्री संकलन गरी प्रयोग गरिएको थियो । प्रदर्शनीको काठमाडौं विश्वविद्यालय, ललितकला तथा डिजाइन विभागका प्रमुख सुजन चित्रकारले उद्घाटन गरेका हुन् ।