देश

विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सरकारले देशैभर चार्जिङ स्टेशन खोल्ने

काठमाडौँ, भदौ ४–सरकारले विद्युत खपतलाई बढाउन र विद्युतीय सवारीलाई प्रोत्साहन गर्न देशभरि नै चार्जिङ स्टेशन संचालन गर्ने भएको छ । पछिल्लो समय देशमा उत्पादित विद्युत बढदै गएको तथा इन्धन आयातका कारण व्यापार घाटा चुलिन थालेपछि सरकारले यस्तो योजना अघि सारेको हो । गत पुसमा सरकारले ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो ।

उक्त विद्युतीय बस संचालन गर्न देशैभरि चार्जिङ स्टेशन स्थापना गर्न गृहकार्य अघि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले बताए । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा भन्दा विद्युतीय सवारी साधानमा कम खर्च लाग्ने उनले बताए ।

विद्युतीय बस संचालन गर्दा मुलुकबाट इन्धनका लागि बाहिरिने रकम जोगिन्छ,’ उनले भने(‘हामी अब विद्युतमा विस्तारै आत्मनिर्भर बन्दैछौं ।’ चालु आवको अन्त्यसम्म राष्ट्रिय प्रसारण प्रणालीमा थप एक हजार २०० मेगावाट भन्दा बढी विद्युत् जोडिदै छ । विद्युत खपत बढाउन सके इन्धन खर्चमा केही कटौती हुने थियो ।

अब किनेर इन्धनबाट सवारी चलाउनु भन्दा वातावरणमैत्री सवारी साधानमा जोड दिन यो कदम अघि सारिएको हो । ‘त्यसो त सरकारले विद्युतीय सवारी साधन खरिदमा कर छुट समेत दिएको छ,’ उनले थपे । सरकारले साझा यातायात खरिद गर्नका लागि ३ अर्ब रुपैयाँ समेत विनियोजन गरेको छ ।

सरकारले यस अघि चालु आर्थिक वर्ष्भित्रै काठमाडौं उपत्यकाको २० स्थानमा विद्युतीय सवारी साधनका लािग चार्जिङ स्टेशन निर्माण गर्ने भएको जनाइएको छ । सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिएको छ, मन्त्री पुनले थपे ।

चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले आवश्यक प्रक्रिया शुरु गरिसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माणका लागि प्राधिकरणले काम शुरु गरिसकेको छ । सरकारले चार्जिङ स्टेशन खोल्न गृहकार्य अघि बढाएपनि चार्ज गर्दा तिर्नुपर्ने महशुलको विषयमा भने हालसम्म निर्णय गर्न सकेको छैन । यस विषयमा प्राधिकरणले छिट्टै निर्णय गर्न सक्नेछ ।