देश

काठमाडौं प्रहरीद्वारा निकिताको जाहेरी लिन अस्वीकार

काठमाडौं, भदौ ४–रवि लामिछानेकी श्रीमती निकिता पौडेलले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला र भिडियो लिग गरेको अभियोगमा चितवनका एसपी दानबहादुर मल्लविरुद्ध दिन खोजेको जाहेरी प्रहरीले लिन अस्वीकार गरेको छ ।

काठमाडौं प्रहरी परिसरमा तीन जनाको नाममा जाहेरी दिन पुगेकी निकितालाई काठमाडौं प्रहरीको कार्यक्षेत्र नभएको भन्दै जाहेरी नलिएको परिसरका एसपी अशोक सिंहले बताए ।

‘हामीले हाम्रो कार्यक्षेत्र नभएको र घटनासमेत चितवनकै भएको कारण चितवन नै जानु भन्ने सुझाव दिएका छौं,’ एसपी सिंहले भने । निकिता प्रहरीले अनुसन्धान गरिरहेको शालिकराम आत्महत्या प्रकरणको भिडियो किर्ते बनाएर सार्वजनिक गरेको भन्दै मुलिकी अपराध संहिता २०७४ को दफा २७६ र २७७ अनुसार उजुरी दिन काठमाडौं प्रहरीमा पुगेकी थिइन् ।