देश

जबरजस्ती करणीका एकसहित ४ विद्यार्थी पक्राउ

जनकपुर, भदौ ४–जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार जबरजस्ती करणी मुद्दाका एक अभियुक्तसहित ४ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । गत बिहीबार बयान लिने क्रममा जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट फरार भएका राममणि यादवसहित चार विद्यार्थीलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

फरार भएको ६ दिनपछि प्रहरीले मंगलबार राति साढे ९ बजे सिरहा माडरको भारतीय सीमाबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

पक्राउ पर्ने विद्यार्थीमा सिरहा औरहीका प्रमेश यादव, ठैगहीका सूर्यनारायण यादव, बसपिट्टाका राजकुमार यादव र अर्नमाका रामप्रकाश यादव छन् । चारै जना जनकपुरस्थित एक कलेजमा ओभरसियर अध्ययनरत विद्यार्थी हुन् । विद्यार्थीहरुले राममणिलाई भगाउन सघाएका थिए । पक्राउ परेका ५ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीको हिरासतबाटै यादव फरार भएपछि अपराध अनुसन्धान शाखाका असई राजकुमार भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले निलम्बित गरेको छ भने प्रहरी नायब उपरीक्षक कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली नै गठन गरेर फरार अभियुक्तको खोजी तीव्र पारिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका–८ बलवा टोलमा डेरा लिई बस्दै गरेका सिरहाका २० वर्षीय राममणि यादवले बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको थियो ।

Featured