देश

सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता सुरु

काठमाडौं, भदौ ४– काठमाडौं महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको नाम दर्ता तथा नविकरण सुरु गरेको छ । महानगरको सामाजिक विकास विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आउँदो पुस मसान्तभित्र नयाँलाई नाम दर्ता गराउन र भत्ता लिइरहेकालाई नविकरण गराउन अनुरोध गरेको हो । निवेदकले आफ्नो स्थायी ठेगाना रहेको वडा कार्यालयमा गएर तोकिएको ढाँचामा दरखास्त दिन सक्नेछन् ।

सामाजिक सुरक्षा ऐन, २०७५ तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्य्विधि, २०७५ बमोजिम रीत र योग्यता पुगेका (जेष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपांगता भएका व्यक्ति, अति अशक्त अपांग, दलित, जनजाति, तोकिएका बालबालिका) लाई सामाजिक सुरक्षा भत्ता स्थानीय सरकारमार्फत प्रदान हुने व्यवस्था छ ।

पुस मसान्तभित्र नाम दर्ता नगराए वा नविकरण नगरे भत्ता रकम नपाइने विभागले जनाएको छ । भत्ता प्राप्त गर्न जेष्ठ नागरिकको हकमा (महिलारपुरुष दुवै) ७० बर्ष उमेर पूरा हुनुपर्छ । तर दलित जेष्ठ नागरिक र एकल महिलाले ६० बर्ष उमेर पूरा भएपछि भत्ता पाउँछन् । विधवाको हकमा भने उमेर सम्बन्धि शर्त लागू हुँदैन ।

यस वर्ष सामाजिक सुरक्षा भत्ता रकममा वृद्धि भएपछि जेष्ठ नागरिक र पूर्ण अपांगता भएकाले मासिक ३ हजार रुपैयाँ पाउने भएका छन् । गएको वर्ष उनीहरुले २ हजार रुपैयाँ पाउँदै आएका थिए । एकल महिला र विधवाले अब मासिक २ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Featured