विदेश

अमेरिकाले ताइवानलाई बेच्यो ६६ अत्याधुनिक एफ–१६ लडाकू विमान

काठमाडौं, एजेन्सी, भदौ ४-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानसँग भएको लडाकू विमान सम्झौतालाई औपचारिक रुपमा स्वीकृत प्रदान गरेका छन्।

मंगलबार अमेरिकाको विदेश मन्त्रालयले यसको जानकारी गराएको हो। मन्त्रालयका अनुसार यस सम्झौतामा ८ अर्ब अमेरिकी डलर रकममा ६६ वटा एफ–१६ लडाकू विमान ताइवानलाई बेचिनेछ।

वाशिङ्टन र बेइजिङबीच व्यापार युद्ध, हङकङजस्ता विभिन्न मुद्दामा विवाद चलिरहेको समयमा ताइवानलाई अत्याधुनिक लडाकू विमान बेच्ने खबरले दुई देशबीचको तनाव थप वृद्धि गर्ने आशंका गरिएको छ । चीनले ताइवानलाई आफ्नो शासनमा आउन बाँकी भूभागको रुपमा हेर्ने गर्छ।

अमेरिकाले वर्षौंपछि ताइवानलाई यति ठूलो स्तरको सैन्य सामाग्री बिक्री गर्न लागेको हो।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्यीङले ताइवानलाई सैन्य सामाग्री बिक्री गरेर अमेरिकाले चीनको सार्वभौमसत्ता कमजोर बनाउने खोजेको आरोप लगाइन्।

‘चीन यस कदमको कडा रुपमा विरोध गर्छ,’ हुवाले भनिन्। उनले अमेरिकाले ताइवानसँगको अत्याधुनिक लडाकू विमान सम्झौतालाई रद्द गर्नुपर्ने र ताइवानसँग अन्य कुनै पनि सैन्य सम्झौता गर्न नहुने बताइन्।
‘अमेरिकाले हातहतियार विक्रि रोकेन भने उसले पछिका सम्पूर्ण परिणामको भागिदार हुनुपर्नेछ,’ हुवाले चेतावनीपूर्ण भाषामा भनिन्।

अमेरिकामा भने सम्झौताको पक्षमा अक्सर धेरै मुद्दामा नमिल्ने दुवै प्रमुख दल एक ठाँउमा उभिएको छन्।

‘ताइवानलाई एफ–१६ बेचेर अमेरिकाले इण्डो–प्यासिफिक क्षेत्रको सुरक्षा र लोकतन्त्रको लागि प्रतिबद्ध रहेको बलियो सन्देश दिएको छ,’ डेमोक्रेटिक सांसद एलिओट एन्जल र रिपब्लिकन पार्टीका सांसद माइकल म्याकोलले अघिल्लो हप्ता जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ।

‘चीनले त्यस क्षेत्रमा सैन्य आक्रमकता वृद्धि गराइरहदाँ, हामीले विश्वभरी रहेका आफ्ना मित्रको सहयोगका लागि सकेको सबै गर्नुपर्छ ,’ सोही वक्तव्यमा भनिएको छ।

अघिल्लो महिना पनि ट्रम्प प्रशासनले ताइवानसँग २.२ अर्ब अमेरिकी डलरको छुट्टै हातहतियार सम्झौता गरेको थियो। त्यस अन्तर्गत १०८ वटा तोप र एकठाँउबाट अर्को ठाँउ सार्न मिल्ने विमान–झार्ने मिसाइल बेचेको थियो।

सन् २०१० यता मात्र अमेरिकाले ताइवानलाई १५ अर्ब अमेरिकी डलर बराबरको हतियार विक्रि घोषणा गरिसकेको छ। अमेरिकाले ४० वर्ष पुरानो ‘ताइवान रिलेसन एक्ट’ अन्तगर्त ताइवानलाई हतियार बेच्छ।

पछिल्लो समय चीनको सैन्य सामर्थमा उलेख्य वृद्धि भइरहेको अवस्थामा ताइवानको प्रतिरक्षा क्षमता बढाउन आवश्यक भएको अमेरिकामा चर्चा चल्ने गरेको छ। चीनले ताइवानलाई आफ्नो शासनमा आउन बाँकी भू–भाग बताउदैं समय अनुकुल हुनासाथ त्यस भूभागलाई आफ्नो शासनमा ल्याउने बताउदैं आएको छ।

Featured