देश

डोटीमा गर्भपतन गराउनेको सख्या बढ्दो

डडेल्धुरा, भदौ ४–डोटीमा सुरक्षित गर्भपतन गराउनहरुको संख्या वर्से्नि बढिरहेको एक तथ्याकंले देखाएको छ । विगत तीन वर्षको तथ्यांक हेर्दा डोटी जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै गईरहेको पाइएको हो ।

गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट एक हजार एक सय ६६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । डोटी जिल्ला अस्पतालबाट तीन सय तीन, परिवार नियोजन संघ डोटी शाखाको क्लिनिकबाट ६० र जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सूचीकृत १९ स्वास्थ्य संस्थाहरुबाट ८ सय ३ जनाले स्वास्थ्य सेवा लिएको सुरक्षित गर्भपतन सेवाको क्षेत्रमा काम गर्ने संस्था सामुदायिक विकास केन्द्रको तथ्यांक छ ।

आर्थिक वर्ष २०७४र०७५ मा एक हजार एक सय २६ र २०७३र०७४ मा ६ सय ३९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका संस्थाका कार्यक्रम संयोजक दिपिका सिंहले जानकारी दिईन् । डोटी जिल्ला अस्पतालले १८ हप्तासम्मको गर्भ र अन्य स्वास्थ्य संस्थाहरुले नौ हप्तासम्मको गर्भपतन गराउन पाउने अनुमति पाएका छन् । ‘पहिले ग्रामीण क्षेत्रमा सूचीकृत स्वास्थ्य संस्थाहरुको संख्या पनि कम थियो, पहुँच थिएन’ डोटी जिल्ला अस्पतालका डाक्टर गिरीश अवस्थी भन्छन्, ‘त्यसैले बढी असुरक्षित गर्भपतन हुने गरेको हुन सक्छ ।’

विगतमा असुरक्षित गर्भपतन गराउने गरेका कारण अहिले सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको देखिएको हुन सक्ने उनले बताए । उनले एउटै महिलाले एकै वर्षमा तीन पटकसम्म सुरक्षित गर्भपतन सेवा लिएको बताए । परिवार नियोजनका साधनप्रतिको बेवास्ताका कारण पनि गर्भपतन गराउनेको संख्या बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.भुषण मिश्र बताउँछन् ।

श्रीमान् विदेशमा बस्ने भएपछि उनीहरुले परिवार नियोजनका साधनहरु प्रति वास्ता गर्दैनन्,’ डा.मिश्र भन्छन्, ‘तर जब श्रीमान घर आउँछन् अनि अनईच्छित गर्भ रहन जान्छ र गर्भपतन गराउँछन् ।’

सुरक्षित गर्भपतन सेवा लिनेहरुका १८ वर्ष मुनीका किशोरीहरु पनि रहेको सामुदायिक विकास केन्दकी कार्यक्रम संयोजक दिपिका सिंहले बताईन् । ‘१५÷१६ वर्षकै उमेरमा पनि गर्भपतन गराउन आएको देखिन्छ,’ उनले भनिन्, ‘गतवर्ष गर्भपतन गराउनेहरुमध्ये २.८० प्रतिशत २० वर्षमूनीका छन् । उनले २० देखि २४ वर्ष उमेर समूहका १६.४५ प्रतिशत रहेको बताईन् । ४५ वर्ष पुगेका महिलाहरु समेत गर्भपतन गराउन आएको उनको अनुभव छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार १८ वर्षमुनीका किशोरीसँग उसको मञ्जुरी लिई वा नलिई यौन सम्पर्क गरे जबरजस्ती करणी भएको मानिने व्यवस्था रहेकोले १८ वर्ष मुनीका किशोरीहरु गर्भपतन गराउन आउँदा कानूनी दायरामा ल्याउनु पर्ने डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए ।

उनले भने, ‘किशोरीहरुबाट लिएको मञ्जुरीलाई मञ्जुरी मानिदैन्, त्यसैले यो क्षेत्रमा कामगर्ने संघसंस्थाहरुले कानुनी कुराहरु पनि जानकारी गराउनु जरुरी छ ।
सुरक्षित गर्भ पतनका साथसाथै असुरक्षित गर्भपतन पनि हुने गरेको जिल्ला समन्वय समिति डोटीका उपप्रमुख शशी सोवले बताइन् । ‘असुरक्षित गर्भपतन गराउनेको संख्या धेरै छ,’ सोवले भनिन् ‘तर त्यो गैरकानुनी भएका कारण गणनामा आउँदैन् ।’

औषधी पसल सञ्चालकहरुले असुरक्षित गर्भपतन गराउने गरेको उल्लेख गर्दै उनले थपिन्, ‘एक पटक औषधी व्यवसायीहरुसँग समन्वय गर्नु जरुरी छ ।’ परम्परागत हानिकारक अभ्यासहरुबाट पनि असुरक्षित गर्भपतन गर्ने चलन कायमै रहेको सोवको भनाई छ ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको, गर्भपतन गराएमा गर्भवती महिलाको ज्यान खतरामा हुनसक्ने तथा विकलाङ्ग बच्चा जन्मने भनी ईजाजत प्राप्त चिकित्सकको रायमा २८ हप्तासम्म, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ भए २८ हप्तासम्म, रोग प्रतिरोध क्षमता उन्मुक्ति गर्ने जीवाणुु (एआईभी) वा निको नहुने रोग लागेको अवस्थामा र भ्रुणमा कमी कमजोरी भएका कारण गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था स्वास्थ्यकर्मीको रायमा २८ हप्तासम्मको गर्भ पतन गर्न पाउने व्यवस्था छ ।