देश

दाहालको अभिव्यक्तिप्रति प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रीको आपत्ति

जनकपुर, भदौ ३–नेकपाका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिप्रति प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आपत्ति जनाएका छन् । धनुषामा हिजो आयोजित कार्यक्रममा दाहालले प्रदेश–२ मा भ्रष्टाचार मौलाएको बताएका थियो । सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मन्त्री यादवले प्रदेश नभएर नेपाल नै भ्रष्टाचारमा डुबेको बताए ।

जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा यादवले तथ्यमा आधारित भएर अभिव्यक्ति दिन चेतावनीसमेत दिए । उनले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा बिक्री प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल नै मुछिनु र प्रदेश सरकार भ्रष्टाचारमा मुछिएको भन्नु गलत रहेको बताए । यादवले सुशासन स्थापनाका लागि प्रदेश सरकार संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

यादवले दाहालको अभिव्यक्तिको खण्डन गर्दै सबभन्दा बढी काठमाडौं र सिंगै देशनै भ्रष्टाचारमा डुबेको दाबी गरे । उनले संघीय सरकारको हस्तक्षेपका कारण प्रदेशमा सुशासनको अवस्था खस्किएको आरोप लगाए ।

Featured