देश

बिरामीको मृत्यु भएपछि निसर्ग अस्पतालमा तनाव

डडेल्धुरा, भदौ ३–उपचारका क्रममा धनगढीको निसर्ग अस्पताल प्रा.लि.मा एक जना बिरामीको मृत्यु भएपछि मुतकका आफन्तले अस्पताल तोडफोड गरेका छन्। पित्तथैलीको अपरेशनका लागि सोमबार बिहान अस्पताल भर्ना भएका भिमदत्त नगरपालिका–२ कञ्चनपुरका का ५३ वर्षीय मदनसिंह भण्डारीको मृत्यु भएको हो ।

उनको सोमबारै दिउँसो २ बजे पित्तथैलीको अपरेशन गरिएको थियो। अपरेशनपछि राति १० बजे उनको स्वास्थ्यमा एकाएक समस्या आएपछि ११ बजेतिर मृत्यु भएको आफन्तले बताएका छन्। चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तजले अस्पताल बाहिर नाराबाजी गर्दै ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले भिड नियन्त्रण गरेको थियो।

अस्पताल परिसरमा प्रहरीले सुरक्षा दिइरहेको छ। अहिले अस्पताल बन्द गरिएको छ भने अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता भइरहेको छ। घटनाबारे अहिलेसम्म अस्पताल प्रशासनको आधिकारीक धारणा बाहिर आएको छैन्।