देश

प्रभु साहद्वारा नेकपाको २ नम्बर प्रदेश अध्यक्ष पद बाट राजीनामा

काठमाडौँ, भदौ ३-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रभु साहले जिम्मेवारी बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै नेकपाको २ नम्बर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका छन्। साहले मङ्गलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

पार्टी एकीकरणका क्रममा भएको जिल्ला र प्रदेश कमिटि चयनप्रति असहमति जनाउँदै साहले राजीनामा दिएको साहले बताएका छन्। साह स्थायी कमिटी सदस्यका समेत दाबेदार मानिएका थिए। तर तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको स्थायी कमिटिमा साहको नाम परेको थिएन।

पछिल्लो पटक प्रदेश सदस्यहरुको चयन गर्दा समेत आफुसँग कुनै सल्लाह नगरेको साहको गुनासो छ। केही दिनअघि जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवम् जनप्रतिनिधिहरूको प्रशिक्षण रोकिएकोमा साहले असन्तुष्टि जनाएका थिए।