देश

प्रदेश ५ का ११ जिल्लामा सीसीटीभी क्यामरा जडान

बुटवल, ३ भदौ–आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट निकासा गरेपछि प्रदेश ५ का ११ जिल्लामा सीसीटीभी जडान गरिएको छ । १२ जिल्लामध्ये रोल्पामा मात्र सीसीटीभी जडान हुन बाँकी छ ।

दुर्घटना न्यूनीकरण र अपराध नियन्त्रण एवं सुरक्षाका लागि प्रदेशका ११ जिल्लामा सीसीटीभी जडान गरिएको हो । १ सय ४० वडामा जडान गनुपर्नेमा अहिलेसम्म १ सय ५ वटामा सीसीटीभी जडान भइसकेको प्रदेश ५ का ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइटेलले जानकारी दिए ।

सीसीटीभी जडानका लागि प्रदेश सरकारले ३ करोड रकम बजेट छुट्याएकोमा २ करोड ५९ लाख रुपैयाँमा सीसीटीभी खरिद गरिएको हो। त्यस्तै कन्ट्रोलरुम स्थापनाका लागि ३० लाख रकम बजेट विनियोजन भएकोमा २१ लाख खर्च गरी केन्ट्रोल रुम समेत निर्माण गरिएको छ । उक्त कन्ट्रोलरुमको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए ।
प्युठानमा ९ वटा, अर्घाखाँचीमा ७, गुल्मीमा ८, पाल्पामा १६, रुपन्देहीमा १८, नवलपरासीमा १८, कपिलवस्तुमा १४, बाँकेमा १५ र प्रदेश नं. ५ ट्राफिक कार्यालय अन्तर्गत बुटवलमा ८ वटा सीसीटीभी क्यामरा जडान गरिएको छ ।

दाङ, बर्दिया र रुकुममा जडान भइरहेको प्रहरी उपरीक्षक लुइटेलले बताए । बुटवलको गोलपार्क, बिद्युतचोक, हस्पिटल लाइन, भुड्कीचोक, मिलनचोक, राजमार्ग चौराहा, नेपालगन्ज रोड र तिनाउ पुल पारीसम्मको करिब ३ किलोमिटर क्षेत्रका मुख्य राजमार्गको दृश्य कन्ट्रोल रुपमा कैद हुनेछन् ।
नाइटभिजन पनि भएकाले रातिको समयमा हुने गतिविधिलाई पनि प्रहरीले निगरानी गर्नेछ । त्यस्तै योगीकुटी, रामनगर, ट्राफिक चोक र नयाँ बसपार्कमा पनि सिसिटिभी क्यामरा जडान गर्न आवश्यक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

बुटवलमा आकाशे पुल बनेपछि पुल अहिले सेल्फि खिच्ने र गफिने स्थान बनेको छ । पैदल यात्रुलाई बाटो काट्न सहज होस भनेर बनाइएको पुल चौतारीजस्तै बन्न थालेको छ ।

बुटवलको राजमार्ग चौराह, मिलनचोक, बसपार्क, कालिका मानविज्ञान स्कुल अगाडि र योगीकुटीमा आकाशे पुल बनेका छन् भने ट्राफिक चोकमा अझै बनेको छैन । बुटवलका ८ स्थानमा राखिएको सीसीटीभीले राति र दिउँसोमा आकाशे पुलको पनि निगरानी गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुर्घटना न्यूनीकरण र सुरक्षा निगरानी बढाउनका लागि प्रदेशका जिल्लामा सिसिटीभि जडान गरेको बताएका छन् । प्रदेश ५ ट्राफिक कार्यालयमा सीसीटीभी कन्ट्रोल रुपको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सीसीटीभी जडान भएका क्षेत्रमा दुर्घटना न्यूनीकरणका साथै प्रहरीको निगरानी र पारदर्शीताका लागि सीसीटीभी जडान गरिएको बताए ।

सीसीटीभी क्यामरा जडान जडान भएपछि त्यसको व्यवस्थापनमा ध्यान दिए मात्र प्रभावकारी हुने यातायात व्यवसायीले बताएका छन् । यसअघि पनि बुटवलका विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान भएपनि ममर्त नहुँदा बिग्रिएका थिए । पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेलले सीसीटीभी जडानले गल्तीको पहिचान गर्न सहज हुने बताए ।

Featured