देश

जम्मू काश्मीर मामिलालाई नजिकबाट नियालिरहेका छौँ : परराष्ट्रमन्त्री

काठमाडौँ, भदौ २– गत ५ अगस्टमा भारतले जम्मू काश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा समाप्त गर्ने भारत सरकारको निर्णयबारे परराष्ट्र मन्त्रालयले पहिलो पटक टिप्पणी गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारले जम्मू काश्मीर मामिलालाई नजिकबाट नियालिरहेको बताएका छन् ।

भारतले धारा ३७० लाई निष्प्रभावी बनाएर जम्मू काश्मीरको विशेष राज्यको दर्ता खोसेको छ भने लद्दाखलाई अलग्गै केन्द्र शासित क्षेत्र बनाएको छ । भारतको यो कदमको पाकिस्तानले कडा विरोध गरेको छ । सार्कको अध्यक्ष समेत रहेको नेपालले भने भारत र पाकिस्तानबीचको विवादित क्षेत्र काश्मीरको यो घटनाक्रमबारे अहिलेसम्म मुख खोलेको थिएन ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले जम्मू कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताए । जम्मू काश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबासले काम गरिरहेको बताउँदै उनले त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी पनि दिए । मन्त्री ज्ञवालीले नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताए ।