देश

नागरिक उड्डयनमा नेपालको ठूलो प्रगति : मन्त्री भट्टराई

काठमाडौँ, भदौ २नेपालले नागरिक उड्डयन सुरक्षाबारे ठूलो प्रगति हाँसिल गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले बताएका छन्। अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को एशिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन महानिर्देशकहरुको सम्मेलनको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालले नागरिक उड्डन सुरक्षाबारे ठूलो प्रगति हाँसिल गरेको र विमानस्थल एवं जहाज सुरक्षा विषयमा पछिल्लो समय अन्तर्रा्ष्ट्रिय सरोकारवालाहरुसँग चरणबद्ध रुपमा छलफल भएको समेत बताए।

उनले भने–‘नेपालले नागरिक उड्डन सुरक्षाबारे ठूलो प्रगति हासिल गरेसँगै विमानस्थल एवं जहाज सुरक्षा विषयमा अन्तर्रा्ष्ट्रिय सरोकारवालाहरुसँग चरणबद्ध रुपमा छलफल भएको छ।’ सोमबारबाट काठमाडौंमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा बोल्दै मन्त्री भट्टराईले हवाई उड्डयनको क्षेत्रमा नेपालले नीतिगत सुधार गरिरहेको बताउँदै एशिया क्षेत्रमा नेपालको प्रगति उत्कृष्ट रहेको बताए।

शुक्रबार सम्म चल्ने सम्मेलनमा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालको वायु सेवा सुरक्षाको अवस्था सुधार भएको दाबी गर्दै भने–‘नेपालको नागरिक उड्डयन सुरक्षा आइकाओले निर्धारण गरेभन्दा प्रगति भएको छ। दुई वर्षयता नेपालका विमानस्थलहरुमा ठूलो सुधार भएको छ ।’ महानिर्देशक पोखरेलले अहिले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल रात्रीकालीन उडानका लागि समेत तयार भइसकेको जानकारी दिए।

सम्मेलनमा बोल्दै आइकाओका एशिया प्यासिफिक निर्देशक अरुण मिश्रले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन काम गरिरहेको दाबी गरे । नागरिक उड्डयनको दृष्टिले नेपाल उत्कृष्ट लयमा रहेको भन्दै उनले यो क्षेत्रमा नयाँ प्रविधिअनुसार गर्नुपर्ने कामहरु थपिएको बताए ।

होटल सोल्टीमा सुरु भएको सम्मेलनमा विश्वका ठूला जहाज निर्माता कम्पनीहरु बोइङ र एयरबसका प्रतिनिधि समेत सहभागी छन् । अमेरिकी जहाज निर्माता बोइङ तथा युरोपेली जहाज निर्माता एयरबसका प्रतिनिधिहरु उड्डयन सुरक्षा तथा प्रविधि विषयमा प्रस्तुति दिन सम्मेलनमा सहभागी भएको बताइएको छ ।

एशिया प्रशान्त क्षेत्र भनिए पनि सम्मेलनमा युरोपेली संघका नियमाक निकाय प्रमुख, अमेरिका, वेलायत र फ्रान्सका नियामक निकायका प्रमुखहरु समेत सहभागी रहेको आयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सम्मेलनमा आईकाओ काउन्सिलका अध्यक्ष डा. अलुमुयिवा बनार्ड अलियु, आईकाओका विभिन्न विभागका निर्देशकहरु, ४३ मुलुकका २ सय ९१ प्रतिनिधि, २६ वटा प्रवर्धदक संस्था तथा अन्य सहभागी गरी करिब ४ सय जना विदेशीको सहभागिता रहेको छ ।