राजनीति

नेकपाको जनवर्गीय संगठन र विशेष कमिटीका इन्चार्ज/सहइन्चार्ज चयन

काठमाडौँ, भदौ २–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीमा नेतृत्व चयन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूर्णता दिएको हो। उपत्यका विशेष जिल्ला कमिटीको इञ्जार्जमा लिलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल, अध्यक्ष डा राजन भट्टराई र सचिव लेखनाथ न्यौपानेलाई तोकेको छ।

युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा इन्चार्ज माधव ढुङ्गेल, सहइन्चार्जमा कृष्ण केसी, अध्यक्ष रमेश मल्ल, सचिव सुनिता बराल, मजदूर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल र अध्यक्ष जगत सिंखडा, सचिवमा नरनाथ लुइँटेललाई तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसैगरी, पेशागत विशेष जिल्ला कमिटीमा इन्चार्जमा केशवप्रसाद नेपाल, सहइन्चार्जमा प्रेमल खनाल, अध्यक्ष प्रेम पराजुली, सचिव कृष्णराज केसी, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीमा पार्वत गुरुङ, सहइन्चार्जमा शशी श्रेष्ठ, अध्यक्षमा नाम तय हुन बाँकी, सचिव चन्द्र रिजाल, केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा, सहइन्चार्ज डीलाराम आचार्य, विजय गुरुङ र झक्कु सुवेदी, अध्यक्ष प्रल्हाद बुढाथोकी सचिव नरेन्द्र श्रेष्ठलाई तोकिएको छ। बैठकले सात वटै प्रदेश १ को सम्पर्क कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ।

जनसङ्गठनतर्फ ट्रेड युनियन महासङ्घको इञ्चार्ज जयपुरी घर्ती, सहइन्चार्ज विनोद श्रेष्ठ, अखिल नेपाल किसान महासंघको इन्चार्जमा वामदेव गौतम, सुनील मानन्धर, र अध्यक्ष परिवर्तन गरी हरि पराजुलीलाई जिम्मेवारी दिने निर्णय भएको छ। हालसम्म महासंघको अध्यक्ष नेता गौतम छन्। गौतमले यसअघिको सचिवालय बैठकले पार्टीको उपाध्यक्षको जिम्मेवारी दिने गरी सो प्रस्ताव स्थायी कमिटीमा लाने निर्णय गरेको थियो।

यस्तै अखिल नेपाल महिला सङ्गठनको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोका, राष्ट्रिय युवा संघ नेपालको इन्चार्जमा महेश बस्नेत र सहइन्चार्जमा रामप्रसाद सापकोटा ‘दीपशिखा’, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको इन्चार्जमा हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल, नेपाल वुद्धिजीवी सङ्गठनको इन्चार्जमा अग्निप्रसाद सापकोटा र सहइन्चार्जमा टङ्क कार्की, पेशागत महासङ्घको इन्चार्जमा पम्फा भुषाल र सहइन्चार्ज विश्वनाथ प्याकुरेललाई जिम्मेवारी दिइएको छ ।

जनसङ्गठनका संयोजक र सहसंयोजक यसअघि तोकी सकिएको छ। इन्चार्ज तोकिएसँगै अब ती सङ्गठनको केन्द्रीय कमिटीले पूर्णता पाउनेछ। एकता प्रक्रियाका महत्वपूर्ण चरणहरु यसअघि पार भइसकेका छन्। अन्य केन्द्रीय सदस्यहरुको कार्य्विभाजन, प्रभाव कमिटीको गठन, केन्द्रीय निकायको गठन, पोलिटब्यूरो आदि कार्यसूचीमा आगामी बैठकमा छलफल हुने बुझिएको छ।

Featured