देश

कानेपोखरीमा सहकारीबाट पाँचलाख चोरी

विराटनगर, भदौ १—मोरङको कानेपोखरी स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट गएराती सवा ५ लाख चोरी भएको छ । कानेपोखरी गाउँपालिक–७ बरगाछीमा रहेको जनमुखी साकोसबाट ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको मोरङ प्रहरीले जनाएको छ ।

साकोसको पूर्वपटिको झ्यालको पल्ला र ग्रिल तोडेर भित्र चोरी भएको हो । बचत परिचालक रमेश शिवाकोटीले आइतबार विहान ७ बजे संस्था खोल्दा भित्र तोफोड भएको देखेपछि चोरीबारे खबर गरेका थिए । शिवाकोटीले साकोसको हिसाबका लागि विहानै कार्यालय आउँदा चोरीको बारेमा जानकारी भएको बताए ।

चोरको समूहले कार्यालयमा जडान गरेको सिसी क्यामेराको तार काटेर हार्डडिक्स समेत लगेको उनले बताए । चोरले सिसि क्यामेराको तार काटेर हार्डडिक्स लानुका साथै चाबी लगाउने ठाउँबाट फोडेर रकम चोरी गरेको पाइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक रामबहादुर ढकालले बताए ।

कार्यालय भित्रको सामान छरिएको अवस्थामा नभएकोले यहाँ चोरी गर्ने चोर पेसेवर भएको हुनसक्ने प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पथरीको टोलीले विहानै चोरी भएको स्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ ।