देश

नक्कली सुनको मूर्ति बिक्रि गर्ने तीन पक्राउ

पोखरा, भदौ १– सर्वसाधारणलाई सुनको मूर्ति भन्दै झुक्याएर नक्कली मूर्ति बचेर ठगी गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ । सुनको मूर्ति भन्दै सुनजस्तै देखिने पहेंलो मूर्ति देखाएर ठगी गरेको आरोपमा पक्राउ गरिएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

उनीहरुले पोखरा महानगरपालिका–८ बस्ने पाराश्वर विश्वकर्मालाई १३ लाखमा नक्कली मूर्ति बेचेर ठगी गरेका थिए । जिल्ला प्रहरी कार्यलय कास्कीमा प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार विश्वकर्माले मूर्ति खरिद गरेपछि नक्कली सुन भएको पत्तो पाए र १९ साउनमा जिल्ला प्रहरी कार्यलयमा आफू ठगिएको भन्दै उजुरी गरेका थिए ।

उजुरी पछि प्रहरीले उनीहरुलाई २७ साउनमा पोखराको डिहिकोपाटनबाट पक्राउ गरेको थियो । ठगी गरेको आरोपमा प्रहरीले दोलखा भिमेश्वर नगरपालिका १ घर भई हाल काठमाडौंको सिनामंगल बस्ने ५२ वर्षीय नवराज पाण्डे, (रामराज शिवाकोटी), गोरखा भिमसेन नगरपालिका १ घर भई हाल पोखरा न्युरोडमा बस्दै आएका ३३ वर्षीय रशेश श्रेष्ठ (देवकुमार श्रेष्ठ) र रामेछाप भगेरी गाउँपालिका ५ घर भै हाल काठमाडौं ६ बौद्ध बस्ने ३६ वर्षीय देवराज प्रधान (वसन्त बाबु श्रेष्ठ) लाई पक्राउ गरेको हो ।

प्रहरीले अभियुक्तको साथबाट सुनजस्तै देखिने पहेंलो ६ किलो १ सय ग्राम तौलको बुद्धको मूर्ति, धातु छेड्न प्रयोग गरिने ड्रिल मेसिन, सुनजस्तो देखिने पहेंलो धुलो, २ भारतीय क्यासिनो कार्ड, राजदुताबास काठमाडौं लेखिएको कार्ड एक थान, भारतीय निर्वाचन आयोगको कार्ड १ थान र विभिन्न बैंकका चेकसमेत बरामद गरेको जनाएको छ । मूर्तिमा सुनजस्तो देखिने धुलोको लेप लगाएपछि त्यस्तै देखिने भएका कारण मूर्ति खरिद गर्नेहरु ठगिएको कास्कीका प्रहरी प्रमुख एसपी कार्कीले बताए ।

Featured