देश

भरतपुरमा लामखुट्टे लार्भा नष्ट अभियान सुरु

चितवन, भदौ १–कुनै समय डेंगूको प्रकोप देखिएको चितवनमा १ महिनामा ५६ जनामा डेंगूको सक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ५६ जनामा यसो संक्रमण देखिएको हो। जसमध्ये ३३ जना विरामी भरतपुर महानगरपालिका भित्रकै छन्।

एक महिनाको अवधिमा रगत परिक्षण गराएका मध्ये ५६ जनामा डेंगूको पोजिटिभ देखिएको छ । जसमध्ये चितवनका ३९ जना, नवलपरासीका ५ जना, मकवनापुरका २ जना छन् । अन्य जिल्लाका १० जना छन् । २०७३र७४ मा २ हजार ५ सय ६२ जनाको रगत परीक्षणमा ६ सय ८७ जनामा संक्रमण फेला परेको थियो।

त्यो वर्ष १ जनाको मृत्यु भएको थियो। ०७४/७५ मा १ हजार २ सय ९१ जनाको परीक्षण गर्दा ५९ जनामा पोजिटिभ देखिएको थियो । त्यो वर्ष पनि १ जनाले डेंगूकै कारण ज्यान गुमाएका थिए । गत वर्ष १ हजार ९ सय ५१ जनामा परीक्षण गर्दा ३१ जनामा डेंगू पोजिटिभ देखिएको थियो । २०६७/६८ मा देशभरि ९ सय बढी संक्रमित फेला परेका बेला चितवनमा मात्रै ७ सय ३९ जनामा पोजिटिभ देखिएको थियो । संक्रमित एडिस एजिप्टाई जातको लामखुट्टेले टोकेपछि यो रोग एकबाट अर्कोमा सर्छ ।

यसैबीच भरतपुर महानगरले डेंगूको जोखिम देखिन थालेपछि आइतबारदेखि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । लामखुट्टेको जोखिम बढ्न नदिन लार्भा नष्ट गर्नुपर्ने भएकाले अभियान चलाउन लागिएको हो । भरतपुर वडा नमवर १, २, ३, ४, १०, ११ र १२ मा लार्भा नष्ट अभियान संचालन हुनेछ ।

Featured