देश

बालविवाह रोक्न म्याग्दीको गाउँपालिकाले दिन थाल्यो छोरीलाई मासिक सय रुपैयाँ

काठमाडौं, भदौ १-सरकारले बालविवाह रोक्न सरकारले कार्यक्रमहरु ल्याएका छन्। यस्तै प्रदेश नम्बर २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान नै चलाएको छ।

विभिन्न प्रदेशका स्थानीय सरकारले पनि यस्ता कार्यक्रमहरू सुरू गरेका छन्। म्याग्दीको रघुगंगा गाउँपालिकाले बालविवाह रोक्न छोरी पेवा बचत कार्यक्रम ल्याएको छ। साउन २१ गतेभन्दा यता स्वास्थ्य चौकीमा जन्मिएका छोरीका नाममा गाउँपालिकाले मासिक एक सय रुपैयाँ संकलन गरिदिने भएको हो।

गाउँपालिकाले कार्यविधि नै बनाएर ‘रघुगंगा छोरी पेवा बचत कार्यक्रम’ गाउँपालिकाभर लागू गरेको हो। गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार छोरीहरूका नाममा दश वर्षसम्म खातामा पैसा जम्मा गरिनेछ।

‘जन्मेपछि दश वर्षसम्म गाउँपालिकाले मासिक एक सय जम्मा गरिदिन्छ। १० वर्षपछि अनिवार्य रूपमा अभिभावकले दश वर्षसम्मै पैसा जम्मा गर्नुपर्छ।’

भण्डारीले स्वास्थ्य चौकी नगई बच्चा जन्माउनेहरूलाई यो सुविधा गाउँपालिकाले नदिने समेत बताए। ‘स्वास्थ्य चौकीमै गएर बच्चा जन्माउनुपर्छ भन्ने नियम लागू गरिएको छ। यसले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ,’ उनले भने।

बचत कार्यक्रमले शिक्षामा सहयोग पुग्ने उनले बताए। ‘शिक्षामा सहयोग पुग्छ भने बालविवाह घटाउन पनि मद्दत पुग्छ,’ उनले भने।

गाउँपालिकाले तोकेको सहकारीमा खाता खोलेपछि पैसा जम्मा हुन सुरू हुने उनले बताए। गाउँपालिकाभित्र रहेका ८ वटै वडामा गाउँपालिकाले तोकेको सहकारीमा छोरीहरूका नाममा खाता हुनेछ।

‘खातामा जम्मा हुने रकम २० वर्षसम्म झिक्न पाइँदैन,’ उनले भने, ‘छोरीको शिक्षाका लागि झिक्नुपर्ने नै देखियो भने मात्रै गाउँपालिकाको अनुमतिमा झिक्न मिल्छ।’

कानुनअनुसार २० वर्ष नपुगी विवाह गर्न मिल्दैन। तर उमेर नै नपुगी विवाह गर्ने प्रवृत्ति रहेको भन्दै गाउँपालिकाले यस्तो अभियान चलाएको हो।

‘बाल विवाह रोक्न गाउँपालिकाले अभियान चलाएको छ,’ उनले भने, ‘उमेर नपुगी, पढाइ नसकी विवाह गर्न हुन्न,’ उनले भने।

Featured