राजनीति

समाजवादी–राजपा एकता अन्यौलमा

काठमाडौँ, भदौ १–नेताहरूको पदिय व्यवस्थापनको सकसका कारण समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको एकता अन्यौलमा परेको छ। सैद्धान्तिक रूपमा दुवै पार्टी एकीकरणको पक्षमा रहेपनि नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने अन्यौलका कारण एकता छलफल अघि बढ्न नसकेको हो। विषेशगरी पार्टीको नेतृत्व र नेताहरुको व्यवस्थापनका कारण एकता प्रक्रिया अन्यौलमा रहेको नेताहरु बताउछन्।

केही महिना अघि राष्ट्रिय जनता पार्टी राजपाले लिखित रूपमै पार्टी नेता महन्थ ठाकुरको नेतृत्वमा पार्टी एकीकरणको प्रस्ताव गरेको थियो। सो प्रस्तावमा केन्द्र र स्थानीय तहसम्मकै नेतृत्व तथा पदाधिकारीमा समान हैसियतका आधारमा एकीकरण हुनुपर्ने उल्लेख छ।

यसलाई समाजवादीले स्विकारेको छैन। समाजवादी पार्टी हाल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसंग एकता भई बनेको हो। तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच गत वैशाखमा एकीकरण भई समाजवादी पार्टी निर्माण भएको थियो।
यसको कार्यकारिणी नेतृत्वमा उपेन्द्र यादव छन्। एक हजार सदस्य रहेको संघीय परिषद् नेतृत्वमा बाबुराम भट्टराई छन्। भट्टराईले पार्टी एकता गरेपछि राजपासँगको एकता प्रक्रिया झनै अन्यौलमा परेको नेताहरु बताउँछन् ।

अनौपचारिक तहको छलफलबाटै प्रमुख मुद्दा टुंगिएपछि औपचारिक तहमा वार्ता बस्ने दुवै पार्टीबीच समझदारी छ । तर पछिल्लोपटक वार्ता टोलीबीच अनौपचारिक संवादसमेत हुन सकेको छैन । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले एकीकरणको मोडालिटी र नेताहरूको व्यवस्थापनबारे छलफल नभइसकेको बताए।

०७४ वैशाखमा ६ मधेस केन्द्रित दल मिलेर राजपा बनेपछि अहिलेसम्म उसको एकता अधिवेशन भएको छैन । ६ जना अध्यक्ष मण्डलका सदस्यले चक्रीय प्रणालीमा पार्टीको नेतृत्व सम्हालेका छन् । महाधिवेशन नहुँदा एकीकरणमा प्राविधिक कठिनाइ परेको राजपा महासचिव केशव झा बताउँछन् । महाधिवेशनपछि एकल नेतृत्वमा जाने राजपाले हाल ६ जना अध्यक्ष भएकाले समाजवादीसँग एकतापछि पार्टीको नेतृत्व र नेता व्यवस्थापनमा कसरी जाने टुंगो लगान सकेको छैन।

Featured