देश

‘फलोअप’ का लागि प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

काठमाडौँ, भदौ १–केही दिन अघि मात्र उपचार गराएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि सिंगापुर जाने भएका छन्। आफ्नो स्वास्थ्यको ‘फलोअप’ का लागि केही दिन भित्रै सिंगापुर जान लागेका हुन्। १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि सेवन गरिरहेका छन्।

अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औषधिको प्रभावबारे थप जाँचका लागि सिंगापुर जानै पर्ने भएको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ। प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिंगापुर गएका थिए।

पुरानो औषधि फेरेर नयाँ चलाएका प्रधानमन्त्रीले स्वदेश फर्किएलगत्तै वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेदेखि ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउनेसम्मका महत्वपुर्ण निर्णयहरु चाँडै गराएका छन्। प्रधानमन्त्रीले आइतबार संसदलाई गरेको सम्वोधनमा पनि आफ्नो स्वास्थ्य र सिंगापुर भ्रमणबारे संसदलाई केही पनि बताएका छैनन्।