देश

कञ्चनपुरमा सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ, ३ जना फरार

कञ्चनपुर, भदौ १-कञ्चनपुरमा एक किशोरी सामूहिक बलात्कारमा परेको आरोप परिवार र स्थानीयले लगाएका छन्। शुक्लाफाँटा नगरपालिका–९, नौखरीकी १७ वर्षीया किशोरी ५ जनाको समूहबाट शुक्रबार राति बलात्कृत भएको दाबी परिवार र स्थानीयले गरेका हुन्।

इलाका प्रहरी कार्यालय, झलारीकाले बताए अनुसार शुक्लाफाँटा नगरपालिका–९ कि किशोरी बलात्कृत भएको उजुरीपछि २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। प्रहरीले बलात्कारमा संलग्नको अभियोगमा शुक्लाफाँटा नगरपालिका–९ सिर्सैयाका १९ वर्षीय धीरेन्द्र थापा र सोही ठाउँकै भूपेश ऐरलाई स्थानीयको सहयोगमा पक्रेको हो। अभियोग लागेका अन्य ३ जना भने फरार छन्। उनीहरूको खोजी जारी राखेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको बताइरहँदा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर भने अनभिज्ञ छ। उसले अहिलेसम्म किशोरी बलात्कृत भएको जानकारी नआएको बताएको छ।

कञ्चनपुर यसअघि निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। घटनाको १ वर्षसम्म दोषी पत्ता नलाग्दा प्रहरी प्रशासनको कडा आलोचना हुँदै आएको छ।