विदेश

इरानी ट्यांकर जफत गर्न अमेरिकाको पक्राउ पुर्जी

एजेन्सी, भदौं १–जिब्राल्टरमा गत महिनादेखि नियन्त्रणमा रहेको इरानी तेल ट्यांकर पक्राउ गर्न अमेरिकाले पक्राउ पुर्जी जारी गरेको छ। तेल ट्यांकरलाई घर फर्कने अनुमति दिने एकजना न्यायाधीशको निर्णय आएको भोलिपल्टै अमेरिकाको न्याय मन्त्रालयले ट्यांकर जफत गर्न पक्राउ पुर्जी जारी गरेको हो।

ग्रेस–वान नामक सो ‘सुपर ट्यांकर’ लाई गत ४ जुलाईमा बेलायतको स्वशासित क्षेत्र जिब्राल्टरमा नियन्त्रणमा लिइएको थियो। तेल बोकेको सो ट्यांकर अवैध रूपमा सिरियातर्फ जाँदै गरेको आशंकामा नियन्त्रणमा लिइएको थियो।

अमेरिकाले सो ट्यांकरलाई नियन्त्रणमा लिन अन्तिम कानुनी प्रक्रिया अपनाउँदै गर्दा जिब्राल्टरले बिहीवार त्यसलाई अस्वीकार गरिदिएको थियो। इरानले ट्यांकर नियन्त्रणमा लिने कार्य अवैध अवरोध भएको बताएको छ।

ग्रेस–वानलाई नियन्त्रणमा लिइएको दुई साता पश्चात् गत १९ जुलाईमा इरानले बेलायती झण्डावाला एउटा ट्यांकर स्टेना इम्पेरियोलाई स्ट्रेट अफ हर्मुज भनिने क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। इरानी समुद्री जहाजले अन्तर्रा्ष्ट्रिय सामुद्रिक नियमलाई तोडेको दाबी गरे पनि सो कार्यलाई जिब्राल्टरमा आफ्नो ट्यांकर पक्राउको प्रतिउत्तरका रुपमा लिइएको थियो।

Featured