देश

गोरखामा खुर्पाले हानेर श्रीमतीको हत्या

गोरखा, भदौ १-गोरखामा खुर्पाले हानेर श्रीमानले आफ्नी श्रीमतीको हत्या गरेका छन्।

गोरखा जिल्लाको गोरखा नगरपालिका-९, लक्ष्मीबजारका २० वर्षीय याकुव परियारले शनिबार राति खुर्पाले घाँटी रेटेर आफ्नी श्रीमती १९ वर्षीया पूजा परियारको हत्या गरेका हुन्।

प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार छिमेकीले सूचना दिएपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो। ‘१० बजेतिर घटना भएको रहेछ, प्रहरी पुग्दा पूजाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव भेटियो,’ उनले भने।

हत्याका आरोपित याकुवलाई शनिबार राति नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। ‘उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।’

Featured