विदेश

जम्मु–काश्मीरमा आंशिक रुपमा टेलिफोन र इन्टरनेट सेवा सुरु

एजेन्सी, साउन ३२–भारत प्रशासित कश्मीरमा १२ दिन देखि बन्द गरिएको टेलिफोन सेवा आंशिक रूपमा सुरु गरिएको छ। बीबीसीका अनुसार काश्मीर उपत्यकामा ल्यान्डलाईन सेवा सुचारु गरिएको छ भने जम्मूका पाँच जिल्लामा टुजी सेवासहितको इन्टरनेट सेवा सुरू गरिएको छ।

अहिलेसम्म १७ वटा टेलिफोन एक्सचेन्ज सुरु भएका छन्। बाँकी सबै टेलिफोन लाईन आइतबार साँझ सुरु गर्ने अधिकारीहरुले बताएका छन् । ५ अगस्टमा जम्मू काश्मीरलाई विशेष दर्जा उपलब्ध गराएको अनुच्छेद् ३७० समाप्त गर्ने घोषणा गरिएपछि भारत प्रशासित काश्मीरमा इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरिएको थियो।

जम्मू कश्मीरका प्रिन्सिपल सेक्रेटरी रोहित कांसलका अनुसार बिहानैदेखि उपत्यकाका ३५ प्रहरी स्टेशन भएका क्षेत्रमा प्रतिबन्धलाई खुकुलो बनाइएको छ। आइतबार साँझबाट संवेदनशील क्षेत्रबाहेक सबै ठाउँमा टेलिफोन एक्सेन्जहरूले काम गर्न थाल्ने उनले बताए। उनले जम्मूमा पहिल्यैदेखि ल्यान्डलाइन र मोबाइलले काम गरिरहेको र जम्मू, रियासी, सांबा, कठुआ र उधमपुर जिल्लामा मोबाइल सेवा सुरू गरिएको जानकारी दिए।

Featured