विदेश

जम्मू–काश्मीरमा गोली हानाहान, एक भारतीय सैनिकको मृत्यु

काठमाडौं, साउन ३२–जम्मू–काश्मीरमा शनिबार विहान गोली हानाहानहुँदा एक नेपाली मुलका भारतीय सैनिकको मृत्यु भएको छ। पाकिस्तानको फायरिङमा सेनाका लन्स नायक ३५ वर्षीय सन्दीप थापाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु भएका थापा देहरादूनका थिए।

जम्मू–काश्मीरको राजौरीमा पाकिस्तानी सेनाले युद्धविरामको उल्लंघन गरेको आरोप भारतीय पक्षले लगाएको छ। नौशेरा क्षेत्रस्थित सिमामा शनिबार बिहान साढे ६ बजेदेखि गोलीबारी भएको थियो।

जबाफमा भारतीय सेनाले पाकिस्तानको एउटा चौकी ध्वस्त पारिदिएको भास्कर न्युजले उल्लेख गरेको छ। पाकिस्तानले साना हतियारले फाइरिङ गरेको भारतीय रक्षा मन्त्रालयका प्रवक्ताले बताएका छन्। यसअघि २९ जुलाइमा पनि दुई भारतीय सैनिक मारिएका थिए। पाकिस्तानले पटक–पटक युद्ध विरामको उल्लंघन गरेको भारतीय पक्षको आरोप छ। उता पाकिस्तानले भने जवाफी हमलाका लागि तयार रहँदै आएको बताउँदै आएको छ।

Featured