देश

प्रदेश सरकारको विषदी परिक्षण ल्याबलाई संघियले दिएन मान्यता

सुनसरी, साउन ३२–प्रदेश १ सरकारको ल्याबलाई संघिय सरकारले मान्यता नदिने गरेको खुलासा भएको छ। प्रदेश १ सरकारले विराटनगरमा स्थापना गरेको विषादी प्रयोगशालालाई संघीय सरकार मातहतको कार्यालयले मान्यता दिन अस्वीकार गरेको गरेपछी यसको खुलासा भएको हो ।

संघीय सरकार मातहत रहेको विराटनगर भन्सार कार्यालयले मान्यता नदिँदा २५ लाख लागतमा स्थापना भएको प्रयोगशाला बेकामे भएको छ । सुनसरीको भान्टाबारीमा रहेको भन्सार कार्यालयले भने विराटनगरमा भएको परीक्षणका आधारमा तरकारीको आयात गर्न अनुमति दिइरहेको छ ।

विराटनगर भन्सारले तरकारी तथा फलफूलको नमूना संकलन गरी झापाको बिर्तामोडमा परीक्षणका लागि पठाउँदै आएको छ । यो प्रयोगशालामा दुई समूह (कार्बोनेट र अर्जेनोफास्टर) विषादी परीक्षण गर्न सकिने छ । यो विषादी तरकारी तथा फलफूलमा अत्यधिक प्रयोग हुने समूहमा पर्छ ।

विराटनगरमा रहेको प्रयोगशालाले दैनिक ७० वटासम्म परीक्षण गर्न र ४५ मिनेटमा एउटा रिपोर्ट दिन सक्ने प्रदेश सरकारले जनाएको छ । प्रदेश १ सरकार मातहत विराटनगर र विर्तामोडमा विषादी जाँच प्रयोगशाला छ ।

प्रयोगशाला सञ्चालनमा आए पनि संघीय सरकार मातहतको विराटनगर भन्सारबाट भित्रिने तरकारी तथा फलफूल परीक्षणका लागि नआउँदा प्रयोगशालाले बेकामे बनेको हो । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेललले प्रदेश सरकारले स्थापना गरेको विषादी प्रयोगशालाबारे आधिकारिक जानकारी नआएको बताए । उनले प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रयोगशालाका विषयमा आधिकारिक जानकारी नभएका कारण परीक्षणका लागि अन्यत्र पठाउने गरेको बताए ।

प्रदेश १ सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले डेढ महिनाअघि स्थापना गरेको ल्याबमा विषादी परीक्षणका लागि भन्सार कार्यालयबाट नमूना नआएपछि संघीय सरकार मातहतका कृषि र अर्थ मन्त्रालयमा लिखित पत्र पठाएको थियो । साउन ७ गते मुख्यमन्त्री कार्यालय हुँदै कृषि र अर्थ मन्त्रालयमा पत्र पठाए पनि कुनै जवाफ नआएको मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले बताए ।