देश

अवैध क्रसर उद्योग बन्द गरिन्छ :मुख्यमन्त्री गुरुङ

गोरखा, साउन ३२–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्ने बताएका छन्। प्रेस सङ्गठन नेपाल गोरखाले आज (शनिबार) सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री गुरुङले अवैध क्रसर उद्योग, ढुङ्गा गिट्टी र बालुवा उत्खननको काम सञ्चालन हुन नदिइने बताए।

‘‘क्रसर उद्योग वा ढुङ्गागिट्टी बालुवाको व्यवस्थापन, नियमन गर्ने र कानून बनाउने काम प्रदेश सरकारको हो,’’ मुख्यमन्त्री गुरुङले भने, “हामीले बनाएका मापदण्ड पनि कुनै ठाउँका लागि अव्यावहारिक भएको हुनसक्छ, त्यसलाई संशोधन गर्ने अवस्था गरेर अगाडि बढ्ने कुरा हो। त्यसलाई अझ व्यवस्थित गर्ने काम प्रदेश सरकारले गरिरहेको छ।”

अझै पनि प्रदेशभित्र धेरै ठाउँमा अवैध रूपमा ढुङ्गा गिट्टी उत्खनन गर्ने र क्रसर सञ्चालन गर्ने काम भइरहेको पाइएको उनको भनाइ छ। गएको आर्थिक वर्षमा केही गञ्जागोल धेरै भएकाले नियमनका प्रक्रियामा कमीकमजोरी भएको भए पनि आगामी दिनमा अवैधानिक काम गर्न कसैलाई छुट नहुने मुख्यमन्त्री गुरुङले बताए।

स्थानीय सरकारका लागि थोरै भए पनि राजस्व आउँछ भनेर प्रदेश सरकारले उत्खननको अनुमति दिएको भए पनि कतिपय ठाउँमा मापदण्डविपरीत उत्खनन भएको पाइएको उनको भनाइ छ। “प्रदेश कानूनबमोजिम स्थानीय तहले त्यसको सङ्कलन गर्ने राजस्व उठाउने भनिएको हो, जथाभावी उत्खनन हुँदा त्यसले दीर्घकालीन असर पुग्छ भन्ने कुरा नसोच्ने हो भन्ने अब ठाउँ नै किटान गर्नुपर्ने बेलासमेत आउनसक्छ।” (रासस)

Featured