देश

भ्रष्टाचार बढेको होइन, अख्तियार सक्रिय भएको हो : मन्त्री बाँस्कोटा

काठमाडौं, साउन ३२–सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताएका छन्।

नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश ३ को घोषणासभालाई शनिबार बनेपामा सम्बोधन गर्दै उनले अख्तियारलाई सक्रिय बनाइएका कारण भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने काम भइरहेको बताए। ’एकपछि अर्को भ्रष्टाचारी समातिएका छन्, यसबाट भ्रष्टाचार बढेको ठान्नु गलत हो, यो अख्तियारलाई सक्रिय बनाइएको प्रतिफल हो,’ उनले भने।

उनले यसअघिका सरकारका समयमा अख्तियार भए पनि खासै सक्रिय नभएको दाबी गरे। मन्त्री बाँस्कोटाले विभिन्न निकायका कर्मचारीलाई काम छिटो र नाफामूलक बनाउने प्रवृत्तिका कारण भ्रष्टाचार हुने गरेको बताए। उनले भने, ’फाइल बुझाउन जाँदा कर्मचारीलाई बेलुका तपाईंको फुर्सद के छ, भेटौँ न भन्ने प्रवृत्तिले भ्रष्टाचारले प्रश्रय पाउने हो, यस्तो प्रवृत्ति छ भने आजै त्याग्नुस्, नत्र तपाईं पनि फन्दामा पर्नुहोला।’

उनले कसैले अनुचित रकम दिए वा लिएको जानकारी भएलगत्तै सरोकारवाला निकायलाई खबर गर्न आग्रह गरे। उनले एक अर्ब रूपैयाँसम्मको काम नेपाली निर्माण व्यवसायीले नै गर्नसक्ने भएकाले आफ्नो क्षमता अभिवृद्धि गरी काम गर्न सुझाव दिए। रासस

Featured