देश

शालिकराम र रविको पक्षमा छुट्टाछुट्टै प्रदर्शन

चितवन, साउन ३२– पत्रकार शालीकराम पुडासैनीको रहस्यमय भनिएको मृत्यलाई लिएर चितवनमा छुट्टाछुट्टै प्रदर्शन गरिएको छ। कतै पुडासैनीको न्यायका लागि भन्दै प्रदर्शन गरिएको छ भने कतै सो प्रकरणमा मुछिएर प्रहरीको नियन्त्रणमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेको पक्षमा प्रदर्शन भएको छ।

शनिबार चौविसकोठीमा भेला भएका युवाहरुले पुडासैनीको न्यायका लागि भन्दै प्रदर्शन गरेका छन्। सो प्रकरणमा मुछिएका टेलिभिजनकर्मी लामिछानेको रिहाइका लागि प्रदर्शन भइरहेका बेला पुडासैनीको पक्षमा पनि प्रदर्शन गरिएको हो।

स्वतन्त्र युवा समूहको नामबाट युवाहरुले प्रर्दशन गरेका हुन् जसमा दर्जनौ युवा सहभागी थिए। प्रर्दशनका क्रममा उनीहरुले न्यायलयलाई निष्पक्ष अनुसन्धान गर्न दिनुपर्ने माग राखे। प्रर्दशनकारीहरुले बोकेको प्ले कार्डमा निष्पक्ष छानबिन गर्न देउ, अपराधलाई राजनीतिकरण नगरौं,पुडासैनीले न्याय पाउनैपर्छलगायतका नारा लेखिएका थिए।

त्यस्तै भरतपुरमा लामिछानेको पक्षमा प्रदर्शन गरिएको छ । बिहानैदेखि लामिछानेका समर्थकले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरुले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको छ। प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ भने चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ।

पुडासैनी मृत्युको कारण भएको आरोप लागेका टेलिभिजनकर्मी लामिछानेसहित उनका सहयोग युवराज कँडेल र अर्की युवती अस्मिता भनिने रुकु कार्कीलाई शुक्रबार म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरु बिहीबार काठमाडौंबाट पक्राउ परेका थिए। शुक्रबार म्याद थपका लागि प्रहरीले अर्कै बाटो प्रयोग गरि उनीहरुलाई अदालत पुर्याएको थियो ।

यो पनि पढ्नुहोस: कांग्रेस नेता वडुले भेटे रवि र चितवन एसपीलाई