देश

रवि लामिछाने पक्राउविरुद्ध पत्रकार महासंघले निकाल्यो विज्ञप्ती

काठमाडौँ, साउन ३१–सञ्चारमाध्यमको संवेदनशिलतालाई समेत ख्याल नगरि न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएर पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछाने र पत्रकार युवराज कडेंललाई पक्राउ गरेकोमा विज्ञप्ती मार्फत विरोध जनाउँदै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको हो।

महासंघका महासचिव रमेश बिष्टले विज्ञप्ती जारी गर्दै पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर प्रहरीले आफ्नो सीमा, मर्यादा, अन्तराष्ट्रिय मापदण्ड मिचेर टेलिभिजनको कार्यालयमा बलजफ्ती रुपमा प्रवेश गरी पत्रकारमाथि अभद्र व्यवहार गरेकोमा विरोध जनाएका हुन्।

विज्ञप्तीमा भनिएको छ ‘बिनाजानकारी पत्रकारिताको सामान्य संवेदनशीलतालाई ख्याल नगरी टेलिभिजन कार्यालयमा प्रवेश गरेर प्रहरीले देखाएको शैली र दुव्र्यवहार आफैंमा दुःखद् र निन्दनीय काम हो। प्रहरीको यो कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै संविधानविरीत भएकोे महासंघ ठान्दछ । महासंघ प्रेस र सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेपको तीब्र निन्दा गर्दै प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकार सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेप बन्द गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ,’ ।