शिक्षा

सुनसरी प्राविधिक कलेजको परीक्षामा अनियमितता भएको खुलासा

सुनसरी, साउन ३१–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तरगत सञ्चालित सुनसरी प्राविधिक कलेजको परीक्षामा अनियमितता भएको खुलासा भएको छ।

तीन वर्षे ‘डिप्लोमा इन फार्मेसी’को पहिलो वर्षको भौतिकशास्त्र विषयको परीक्षामा उत्तर पुस्तिका नै फेरिएको पाइएपछि प्रहरीले ११ जना विद्यार्थीलाई पक्राउ गरेको छ। उनिहरुलाई पक्राउ गरेपछी परिक्षामा अनियमितता भएको खुलेको हो। इलाका प्रहरी कार्यालय धरानले दुई दिनअघि पक्राउ गरेर जिल्ला अदालत सुनसरीबाट म्याद थप समेत गरेर अनुसन्धान अघि बढाएको छ।

अनुसन्धान अधिकृत स्रोतकाअनुसार, आफूलाई कलेजका अध्यक्ष लेखिराज लिम्बुका स्वकीय सचिव बताउने किरणराज भण्डारीको संलग्नतामा उत्तर पुस्तिका साटिएको पाइएको छ। अनुसन्धान अधिकृतका अनुसार, सुनसरी कलेजको परीक्षा केन्द्र धरान–१९ स्थित किरातेश्वर माविमा थियो।

शुक्रबार भएको परीक्षा निरीक्षणका लागि पुगेका केन्द्राध्यक्ष योगेन्द्र पालुङ्वाले परीक्षा दिइरहेका पाँचथरका ४३ वर्षीय केदारबहादुर खड्काको गोजीमा उत्तरपुस्तिका देखेपछि सोधपुछ गरेका थिए। तका अनुसार, त्यसवेलासम्म उनले बाहिरबाट ल्याएको उत्तरपुस्तिका आफ्नो कापीभित्र घुसाइसकेका थिए तर, स्टीज लगाउन भ्याएका थिएनन् ।

उत्तरपुस्तिका कसरी कक्षा कोठासम्म पुग्यो भन्ने खुलेको छैन। यद्यपि, प्रारम्भिक छानविनमा हलमा बस्ने पर्यवेक्षकदेखि कलेजका अधिकारीको पनि संलग्नता हुनसक्ने देखिएको बताइएको छ। स्रोतका अनुसार, परीक्षार्थी खड्काको गोजीबाट उत्तर पुस्तिका बरामद भएपछि अन्य विद्यार्थीको पनि उत्तर पुस्तिका जाँच गर्दा थप १५ जना विद्यार्थीको उत्तरपुस्तिका शंकास्पद भेटिएको थियो।

ती मध्ये १० जना महिला पक्राउ परेका हुन् भने ५ जना फरार छन्। उत्तरपुस्तिकाको वैज्ञानिक परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाउने प्रहरीको तयारी छ। साउन १७ गते सुरु भएको फार्मेसीको परीक्षा भदौ २२ मा सकिनेछ।

Featured