देश

नेकपाको स्कुल विभाग ईश्वर पोखरेलको पोल्टामा

काठमाडौं, साउन ३१–लामो रस्सा कस्सी पछि अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्कुल विभाग प्रमुखमा इश्वर पोखरेल चयन भएका छन्। लामो विवादपछि शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभाग प्रमुखको टुंगो लगाउँदै पोखरेललाई जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।

स्कुल विभाग प्रमुखका लागि पूर्व एमाले र पूर्व माओवादी बिच तिब्र विवाद थियो । सो विभागको प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताले दावी गर्दै आएका थिए।

खासगरी पूर्वएमालेले पोखरेल र पूर्वमाओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभागको विषय नेकपा भित्र पेचिलो बनेको थियो। श्रोतका अनुसार शुक्रबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा स्कुल विभागको प्रमुखका विषयमा सहमति भएको थियो। सोही अनुरुप बैठकमो यसबारे कुनै विवाद नभई सर्वसम्मत निर्णय भएको एक सचिवालय सदस्यले बताए।