देश

आजदेखी गाईजात्रा सुरु, सात दिनसम्म चल्ने

भक्तपुर, साउन ३१–सात दिन सम्म चल्ने गाईजाता शुक्रबारदेखी सुरु भएको छ। बहान सबेरै भक्तपुरको तलेजुबाट तलेजुको गाई निकालेपछि भक्तपुरमा विधिवत रुपमा गाईजात्रा सुरु भएको हो।

सात दिनसम्म चल्ने गाईजात्रा तलेजुबाट निकालेर सुरुवात गर्ने प्रचलन छ। दिवंगत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि सुरु भएको हो। नेवार समुदायले आफ्ना दिवंगत आफन्तको सम्झनास्वरुप बिहानैदेखि जात्रा निकाल्ने गरेका छन्।

भक्तपुरको गाईजात्राको मुख्य आकर्षण भनेको घिन्ताङकिसी र माक प्याख नाच हो। बिहानदेखि नै दिवंगत आत्माका प्रतीक निकाल्दै घिन्ताङकिसी खेली यो पर्व मनाईने गरेको छ।

गाईजात्रा पर्वलाई व्यंग्यको प्रतीकका रुपमा पनि लिइने भएका कारण विभिन्न व्यंग्यका साथ जात्रा निकाल्ने गरिएको पाइन्छ । भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्पराअनुसार परालबाट निर्मित भैरव र परालबाट बनेको तमाचा निकालेर नगर परिक्रमा गराई सो दिनको गाईजात्रा विसर्जन गरिने चलन छ ।

आजको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । आजका दिन दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।