देश

बम विस्फोटका दोषीमाथि कारबाही गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

बुटवल, साउन ३१– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गएराती बम विस्फोट गराउनेको पहिचान गरि तत्काल कारवही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्।

शुक्रबार विहान ढकाल निवास पुगेका मुख्यमन्त्री पोखरेलले घरको निरिक्षण गर्दै विस्फोट गराउनेको पहिचान गरि तत्काल कारवाही गर्न निर्देशन दिएका हुन्। प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, संसदीय समितिका सभापति दधिराम न्यौपाने, डाक्टर कृष्ण न्यौपाने, कांग्रेस सचेतक निर्मला क्षेत्री, सांसद् कमला विश्वकर्मा, पमुख जिल्ला अधिकार अर्जुनप्रसाद पोखरेलसहित घटनास्थल पुगेका मुख्यमन्त्री पोखरेलले घटना गम्भीर प्रकृतिको भएकाले सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए।

उनले ढकालका बाबु–आमालगायत परिवारका सदस्यलाई भेट्दै विचलीत नहुन आग्रह गरे। उनले सुरक्षाका लागि आवश्यक परे निवासमै सुरक्षाकर्मी परिचालन गर्ने समेत बताए। कानुनमन्त्री कुलप्रसाद केसीले कुनैपनि आपराधिक गतिविधि सैह्य नभएको बताउँदै घटनामा संलग्नको तत्काल खोजी गरी कारवाही गरि छाड्ने प्रतिबद्धता जनाए। गएराति ढकाल उपचारका शिलसिलामा काठमाडौँमा भएका बेला विस्फोट भएको थियो।

अज्ञात समूहले सचेतक ढकाल, उनका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको गाडीमा बम प्रहार गरेका थिए। बम प्रहारबाट गाडीको पछिल्लो भागमा क्षति पुगे पनि कोठामा प्रहार गरिएको बम विस्फोट नहुँदा अप्रिय घटना हुनबाट जोगिएको थियो। विस्फोटपछि ढकाल परिवार त्रस्त बनेका छन्।