देश

तिजका अवसरमा वृद्धाश्रममा आश्रितलाई भोजन र कपडा

विराटनगर, साउन ३०–बिराटनगरस्थित महिला जागृति तथा वृद्धाश्रमका आश्रितलाई मिष्ठान भोजन गराइनुका साथै लुगा वितरण गरिएको छ। पुष्पलालचोकस्थित आश्रम परिसरमा आज आयोजित तीजको दर खाने कार्यक्रमका बीच वृद्धाश्रमका आश्रितलाई मिष्ठान भोजन गराइनुका साथै लुगा वितरण गरिएको हो।

सो क्रममा आश्रमका आश्रित एक दर्जन बढी ज्येष्ठ महिलाहरुलाई पुरी–जेरी तथा अन्य मिठाइसहितको भोजन गराइएको थियो। यसैगरि उनिहरुलाई दैनिक दिनचर्यामा आवश्यक पर्ने साबुन, टुथपेस्ट, तेल र ब्रसलगायतका सामग्रीसमेत प्रदान गरिएको छ।

सन्तानद्वारा परित्यक्त तथा सन्तानविहीन आश्रित ज्येष्ठ महिलाहरुको पीडा केहि मात्रामा भए पनि कमगर्न तीजको पुर्वसन्ध्यामा कार्यक्रम गरिएको समाजसेवी भवेश पौडेलले बताए। यसैबीच आश्रित महिलालाई बृद्धाश्रमको तर्फबाट नयां साडी वितरण गरिएको छ। आश्रम सञ्चालिका भुवनेश्वरी आचार्यले महिलाहरुलाई साडी प्रदान गरिन् । कार्यक्रमका सहभागी महिलाहरुले तीज विशेष सांस्कृतिक गीतमा नृत्य गर्दै मनोरञ्जन समेत गरेका थिए।

Featured