देश

वेवारिसे व्यक्तिले नयाँ जिवन पाए

विराटनगर, साउन ३०-कोशी अस्पताल विराटनगरमा दुई महिनादेखि उपचार विहिन वेवारिसे अवस्थामा रहेका एक व्यक्तिको आज खुट्टाको शल्यक्रिया गरिएको छ।

विभिन्न संचार माध्यमले अस्पताल भित्र हुँदा पनि उपचार पाउन नसकेको समाचार प्रशारण तथा प्रशासन गरेपछी परिवर्तनका लागि हाते मालोमा आवद्ध युवाहरुले उनको उपचारका लागि पहल गरेका थिए। कोशी अस्पतालले आफन्त तथा कुरुवाको अभावले शल्यक्रिया गर्न नसकिएको बताएपछि परिवर्तनका लागि हाते मालोमान आवद्ध युवाहरु तथा त्यसका अध्यक्ष बिनोद चहार, युवा नेता मृत्युन्जय झा लगायतले पहल गरि विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत एकदेव अधिकारीले अभिभावकत्व लिएपछि उनको खुट्टाको शल्यक्रिया गरिएको हो।

उनको घुडादेखि तलको भाग काम नलाग्ने अवस्थामा पुगिसकेकाले काट्नु परेको अस्पतालका चिकित्सक डाक्टर यज्ञराज खरेलले बताए। उनलाई रगतको धमनी सुकेर रक्त संचालन बन्द भएपछि मासु मर्ने रोग अर्थात बर्जर डिजिज रोग लागेको खरेलले बताए। हाल उनको कोशी अस्पतालको हाडजोर्नी विभागमा उपचार भैरहेको छ। उनको स्वास्थ्य अवस्था बुझ्न विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगायतको टोली अस्पतालमा पुगेको थियो।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ।