विदेश

अमेरिकाद्वारा एप्पलको म्याकबुक प्रो हवाइजहाजमा लैजान प्रतिबन्ध

काठमाडौं, एजेन्सी, साउन ३०-अमेरिकाले एप्पलको म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध लगाएको छ। अमेरिकाको संघीय उड्डयन प्रशासनले सन् २०१५ देखि २०१७ को बीचमा बनेका १५ इन्चको म्याकबुक प्रो ल्यापटप यात्रुलाई हवाइजहाजभित्र लैजान बन्देज लगाएको हो।

गत जुन महिनामा एप्पलले सन् २०१५ देखि २०१७ को बीचमा उत्पादन भएका आफ्ना म्याकबुक प्रो ल्यापटप बजारबाट फिर्ता लिएको थियो। ब्याट्रीमा समस्या देखिएको भन्दै एप्पलले ती ल्यापटपलाई फिर्ता लिएको बताएको थियो । उक्त ल्यापटपको ब्याट्रीमा समस्याका कारण बढी तात्ने र आगो लाग्नसक्ने खतरा रहेको एप्पलले जनाएको छ।

अमेरिकी उड्डयन प्रशासनको निर्णयसँगै अब अमेरिकी विमान सेवा तथा अमेरिकामा जाने कुनैपनि उडान सेवाहरुमा यात्रुहरुले १५ इन्चको म्याकबुक प्रो साथमा राखेर यात्रा गर्न पाउने छैनन्। यात्रुहरुले आफूसँग ल्यापटप राख्न नपाउने मात्र होइन कार्गोको रुपमा समेत हवाइजहाजमा राख्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ। एयर इटाली, एयर ट्रान्सेट, थोमस कुक एयरलाइन्सलगायतले पनि यो ल्यापटपमाथि हवाई यात्रामा प्रतिबन्ध लगाइसकेका छन्।

म्याकबुक प्रो हवाइ उडानमा प्रतिबन्धित भएको पहिलो डिभाइस भने होइन। यसअघि सामसुङको ग्यालेक्सी नोट सेभेनलाई पनि विमान सेवा कम्पनीहरुले प्रतिबन्ध लगाइसकेका छन्। नोट सेभेनमा पनि ब्याट्रीसँग सम्बन्धित समस्या देखिएको थियो।

Featured